१९ चैत्र
काठमाडौं । केपी शर्मा ओली नेतृत्वको संघीय सरकारले बारा र पर्सामा आएको प्राकृतिक विपत्तिमा प्रदेश २ सरकारले माग गरे अनुसार राष्ट्रिय शोक घोषणा गरेन ।

मन्त्रिपरिषद बैठकले तत्काल कुनै राहतको समेत पनि घोषणा गरेन । मन्त्रिपरिषदको सोमबार बेलुकी बसेको बैठकले प्रदेश २ को अपेक्षा विपरीत निर्णय गरेको भनी आलोचना पनि भइरहेको छ ।

सरकारले प्रभावितहरुको उद्धार, राहत, उपचार एंवम् खाद्यान्न र बसोबासको प्रबन्ध मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । घाइतेहरुको उपचारको सम्पूर्ण व्यवस्था सरकारले मिलाउने भएको छ ।

त्यसैगरी घाइतेहरुको उपचारमा कुनै कमी कमजोरी हुन नदिने, घाइते भई अपाङ्ग तथा अशक्त हुनेहरु तथा तथा मृतकका परिवारका सदस्यहरुलाई सरकारले यथोचित व्यवस्था गर्ने, प्रभावित क्षेत्रमा कुनै पनि रोगको प्रकोप फैलन नदिन औषधि उपकरणसहितको थप स्वास्थ्यकर्मीहरुको टोली तुरुन्त परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

विपद प्रभावित क्षेत्रमा विद्युत् , खानेपानी , सञ्चार लगायतका अत्यावश्यक सेवाहरु सुरु गराउन र थप क्षति हुन नदिन सम्बन्धित क्षेत्रहरुले पूर्ण सर्तकता अपनाउने साथै त्यसका लागि आवश्यक कदम चाल्ने निर्णय बैठकले गरेको छ ।

त्यसैगरी, गृह मन्त्रालयको समन्वयनमा विपदबाट भएको क्षतिको विवरण यथाशिघ्र तयार गर्ने, मुल्यांकन गर्ने  तथ्य र विवरणसहितको यथार्थ परिस्थिति स्पष्ट भइसकेपछि पुनःस्थापना तथा पुनर्निर्माणलगायतका आवश्यक विषयका सम्बन्धमा थप निर्णय गर्ने निर्णय समेत बैठकले गरेको छ ।

राज्यकोषमा रकम भए पनि तत्काल राहतको कुनै कार्यक्रम नल्याइएको बताइएको छ ।

पीडितहरुले सोमबार राति कष्टकर जीवन बिताएका छन् । उक्त आँधीमा परी २९ जनाको ज्यान गइसकेको छ भने करिब ७ सय जना घाइते भएका छन् ।