चैत १८

पोखरा । पिएन क्याम्पसमा विद्यार्थीले गरेको विरोध कार्यक्रममा समाचार संकलनको क्रममा पक्राउ परेका पत्रकार राजेन्द्र अधिकारी रिहा भएका छन् । नेपाल पत्रकार महासंघ सहित विभिन्न पत्रकार संघ संगठनहरुको दवाव पछि प्रहरीले अधिकारीलाई विनाशर्त रिहा गरेको हो ।

विप्लव समूहको विद्यार्थी संगठनले सरकारको काम र आफ्ना माउ पार्टीका नेता तथा कार्यकतालाई धमाधम पक्राउ गरेपछि विरोध स्वरुप क्याम्पस गेट अघि प्रदर्शन गरेको थियो । सोही विरोध प्रदर्शनको फोटो र भिडियो खिचिरहेका नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान उपाध्यक्ष अधिकारी सहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा क्रान्तिकारी विद्यार्थी संगठनका पिएन क्याम्पस संयोजक प्रकाश बास्तोला र अर्का विद्यार्थी नेता उज्वल पुन छन् । अधिकारीलाई पत्रकार महासंघको उपस्थितिमा रिहाई गरिएको महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए । साथै उनले पत्रकार माथी हुने दुब्र्यवहार र धरपकड रोक्न पनि आह्वान गरेका छन् ।

अधिकारीको पक्राउका बिषयमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश, कास्की शाखा सहित क्रान्तिकारी पत्रकार संगठन, प्रेस यूनियन, प्रेस संगठनले विरोध जनाएका थिए । पक्राउ परेका अरु दुई विद्यार्थीमाथी प्रहरीले अनुसन्धान सुरु गरेको कास्की प्रहरी प्रमुख एसपी ओम रानाले जानकारी दिए ।