१८ चैत्र

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी एवं खानेपानी मन्त्री बिना मगरको विदेश भ्रमण अस्वीकृत भएको छ ।

मन्त्रिपरिषदको बैठकले नै मन्त्री मगरको विदेश भ्रमण अस्वीकृत गरेको हो । उनको भ्रमण सोमबारदेखि शुक्रबारसम्म कोस्टारिकामा हुँदै थियो ।

मन्त्री मगरले जाने तयारी गरिरहे पनि अन्तिम समयमा आएर मन्त्रिपरिषदले रोकेको थियो । मन्त्रीको विदेश भ्रमणसम्बन्धी निर्देशिका अनुसार मन्त्री र सचिवको विदेश भ्रमणलाई मन्त्रिपरिषदको बैठकले स्वीकृत गर्नुपर्ने व्यवस्था छ ।

यसअघि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमण सरकारले रोकेको थियो भने प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सरकारलाई जानकारी नै नगराई अमेरिका पुगेर आएका थिए ।

मन्त्री मगरसँगै मन्त्रालयका सहसचिव तेजलाल भट्ट, खानेपानी विभागका महानिर्देशक सुनिलकुमार दास तथा मन्त्रालयका उपसचिव टोलराज उपाध्याय पनि कोस्टारिका भ्रमणमा जाने कार्यक्रम तय गरिएको थियो ।

मन्त्रीले नै स्वीकृति दिन मिल्ने भट्ट, दास र उपाध्यायको कोस्टारिका भ्रमण मन्त्री मगरले नै स्वीकृत गरेकी थिइन् ।

तर आफू नै जान नपाएपछि मन्त्री मगर खिस्रिक्क परेकी छिन् । मेलम्ची काण्डमा मुछिएपछि मन्त्री मगरलाई हटाउने सम्भावना भइरहे पनि ससुराले नै हटाउन नदिएको चर्चा चलिरहँदा विदेश जान नपाएपछि भने उनलाई ठूलै धक्का लागेको छ ।