चैत १६, २०७५
संजय रेग्मी
पर्वत : स्वच्छ सडक अभियान सञ्चालन गरिरहेको जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजनामा सवारी साधनहरुमा पर्वत जिल्ला फोहोर फाल्न निषेधित क्षेत्र लेखिएका स्टिकर टाँसिएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कुश्मा नगरपालिका वडा नं. ६ शिवालय चोकमा एक औपचारिक कार्यक्रमको आयोजना गरी सफा सडक अभियानको बारेमा सरोकारवाला सबै पक्षलाई जानकारी गराईएको छ । कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले सबै जना जागरुक भएमा मात्र सफा सडक अभियान सफल बन्ने र सडक पनि सफा रहने बताउनुभयो । अभियानको नेतृत्व प्रहरीले गरिरहेको भएपनि साथ र सहयोग भने सबैको चाहिने र यो कामको जिम्मेवारी सबैको भएको उहाँको भनाई छ ।
यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रामकृष्ण गौलीले प्रहरीको यो अभियानमा अहिलेसम्म सबैको साथ मिलेको बताउँदै यस्तै साथ निरन्तर रुपमा दिन सवारी चालक र आम नागरिकहरुलाई अनुरोध गर्नुभयो । अभियान अन्तर्गत कसैले पनि सडकमा फोहोर फालेमा नियम अनुसारको कारबाही गरिने पनि उहाँले स्मरण गराउनुभएको थियो । आम नागरिक सहित सवारी चालकहरुको पनि सहभागिता रहेको कार्यक्रममा सामुदायिक सेवा केन्द्र कुश्माका अध्यष शिवप्रसाद सुवेदी, बन डिभिजन कार्यालयका अधिकृत दधिलाल कंडेल, वडाध्यक्ष रुद्र गिरी र ट्याक्सी व्यवसायी संघ पर्वतका अध्यक्ष नरेश क्षेत्रीले पनि बोल्नुभएको थियो । कार्यक्रमको संचालन ट्राफिक प्रहरी प्रमुख रामकृष्ण गौलीले गर्नुभएको थियो ।