चैत १६, २०७५
संजय रेग्मी
पर्वत : पर्वतको मोदीवेणी धाममा रहेको नृसिंह मन्दिरबाट शालीग्राम शिला चोरी गर्नेहरुलाई पत्ता लगाएर प्रशंसा पाएको पर्वत प्रहरीले हत्यामा संलग्नहरुलाई पनि पक्राउ गरेर अर्को प्रशंसनीय काम गरेको छ ।
पर्वतको मोदी गाउँपालिका वडा नंं. ८ चित्रेमा कुटपिटबाट ३३ वर्षिय सन्तोष भन्ने गंगाप्रसाद वि.क.को हत्यामा संलग्न उनकै ३ जना साथीहरुलाई पक्राउ गरेर पर्वत प्रहरीले घट्नाको अनुषन्धानमा आप्mनो कौशलता देखाएको हो । गएको गत मंगलवार राती ९ बजेको समयमा सँगै बसेर मदिरा सेवन गरेका युवाहरुबीच झगडा हुँदा २३ बर्षिय दलवहादुर नेपाली, २३ बर्षकै रविन सुनारलाई र २६ बर्षिय कृष्णबहादुर सुनारले गंगाप्रसादको हत्या गरेका थिए ।
चित्रेको नेपानेमा रहेको सादी खोलामा उनीहरुले गंगाबहादुरको हत्या गरेर सोही ठाउँमा रहेको सामुदायिक जंगलमा लुकेर बसेको अवस्थामा प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारी सहितको टोलीले सोही राती नै दलबहादुर र रबिनलाई पक्राउ गरेको थियो । घट्नापछि कृष्णबहादुर भने फरार रहेका थिए । उनको खोजी गर्न पर्वत प्रहरीले पोखरा र चितवनको टाँडीमा पनि टोली खटाएको थियो । घट्नापछि लुकेर बसेका कृष्णबहादुरको लुक्ने सपना भने पर्वत प्रहरीले हिजो बिहान चकनाचुर पारिदियो । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार कृष्णबहादुरलाई शुक्रवार बिहान ४ बजे स्थानीय जंगलबाटै पक्राउ गरेको हो । भोकाएको बेलामा खानेकुरा खोज्नको लागि उनी जंगलबाट बाहिर निस्कीएको अवस्थामा प्रहरीले उनलाई फेला पारेको थियो ।
डि.एस.पी. तिवारीका अनुसार उनीहरुका बीचमा के बिषयमा झगडा भएको थियो भन्नेबारे अनुषन्धान भैरहेको छ । पक्राउ परेका तीनै जनालाई पर्वत जिल्ला अदालतवाट म्याद थप गरेर अनुसन्धान भैरहेको छ ।