१५ चैत्र

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल लगानी सम्मेलनको शुभारम्भ गरेका छन् । शुक्रबार काठमाडौंको सोल्टी होटलमा आयोजित विशेष समारोहकाबीच प्रधानमन्त्री ओलीले लगानी सम्मेलनको उद्घाटन गरेका हुन् ।

दुईदिनसम्म चल्ने सो सम्मेलनमा ४० देशका ६ सय भन्दा बढी विदेशी र स्वदेशी पाहुनाहरुको सहभागिता रहेको छ । सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सबै विदेशी पाहुनाहरुलाई बुद्धको भूमि र सगरमाथाको भूमि लगानीको लागि उपयुक्त रहेको भन्दै पछिल्ला केही महिनामा सरकारले नेपालमा लगानीको वातावरण तयार पारिसकेको स्पष्ट पारेका छन् ।

उनले आजको दिनमा नेपाल लगानीको लागि उत्कृष्ठ गन्तव्य बनिसकेको भन्दै अब नेपालमा लगानी गर्नेले राम्रो प्रतिफल पाउने विश्वास समेत दिलाएका छन् । विभिन्न सेसनमा सञ्चालन हुने सम्मेलनको उद्घाटन शत्रमा अर्थमन्त्री युवराज खतिवडाले पहिलो मन्तव्य राखेका थिए ।

उनले विदेशी लगानीकर्ताहरुलाई डुईङ विजिनेसको रिपोर्टबाट नआत्तिन सुझाव दिएका छन् । सो रिपोर्ट आएपछि समेत सरकारले धेरै कानूनहरु र प्रशासनिक झमेला सुधारिसकेको भन्दै अब नेपालमा ढुक्क भएर लगानी गर्न सक्ने अवस्था रहेको विश्वास दिलाएका थिए ।