१४ चैत्र

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विभिन्न सञ्चारमाध्यममा भ्रामक समाचार आएको भन्दै त्यसको खण्डन गरेको छ ।

महासचिव नेत्रविक्रम चन्द विप्लवले विज्ञसप्त जारी गर्दै आफ्नो पार्टी, क्रान्तिकारी आन्दोलन र नेताहरुका बारेमा असत्य, अस्वभाविक र भ्रामक समाचारहरु आएको भन्दै आपत्ति जनाएका छन् ।

विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ नेपालमा भएका सबै परिवर्तनकामी आन्दोलनहरुको बैठान गलत तरिकाले हुन गई देश र जनताले अहिलेसम्म धोका पाइरहेको परिप्रेक्ष्यमा हाम्रो पार्टीले यी सबैखाले धोकाधडी, षडयन्त्रहरुलाई चिर्दै जनतामा झाँगिएको अविश्वासलाई विश्वासमा, निराशालाई आशामा बदल्दै क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई नै पुनर्गठित गर्दै अघि बढिरहेको पार्टी जसले राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका सवालहरुलाई सशक्त रुपमा उठाइरहेको छ, उक्त पार्टीका विरुद्ध हुँदै नभएका कपोलकल्पित समाचार सम्प्रेशण गर्नु वास्तवमा पत्रकारिता हुँदैन ।

विगतमा जनताद्वारा सञ्चालित परिवर्तनकामी आन्दोलनहरुमा सञ्चार माध्यमहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले अब पनि सञ्चारमाध्यमहरुको विगतको जस्तै भूमिकाको अपेक्षा राखेको उल्लेख गरेका छन् ।

भ्रामक र असत्य समाचारहरु जनता र राष्ट्रकालागि घातक हुने भन्दै पार्टीका बारेमा बिना तथ्य, अनावश्यक, असत्य र भ्रामक समाचार सम्प्रेशण नगर्न सो पार्टीले अपिल गरेको छ ।