पर्यटन क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने आतिथ्यता व्यवस्थापन तालिम पर्वत सदरमुकाम कुस्ममा सुरु भएको छ ।
सामुदायिक रेडियो दिदि बहिनी ९५.२ मेघार्हज र कुस्मा नगर पालिका वडा नं ७ को आयोजना तथा नेपाल पर्यटन वोर्डको संयोजनमा तालिम शुरु गरिएको हो । भोलीसम्म चल्ने तालिमको शुभारम्भ कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले तालिममा सहभागी हुनुभएकाहरुलाई तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न अनुरोध गर्नुभयो । तालिम लिनु ठुलो कुरा नभएको भन्दै भन्दै तालिमको उद्धेश्य अनुसार व्यवहारिक परिवर्तन हुन सकेमा मात्र तालिमको अर्थ रहने उल्लेख गर्नुभयो । पछिल्लो समयमा पर्वत जिल्लामा उपलब्ध हुने स्थानीय खानाका परिकारहरु आन्तिरिक तथा बाह्य सबै पाहुनाहरुले रुचाएकोले पनि पर्वत जिल्लाको परिचय पर्यटनको क्षेत्रमा पनि बिस्तारै उकालो लागिरहेको उहाँको भनाई छ । जिल्लामा आउने पर्यटकलाई स्वागत सत्कार आतिथ्यता ब्यवस्थापनमा ध्यान दिन सकेमा पर्यटन मार्पmत धेरै नागरिकलाई फईदा हुने पनि नगरप्रमुख जोशीले बताउनुभयो ।

कार्यक्रममा बोल्दै पूर्व सांसद तथा रेडियो दिदीबहिनीकी अध्यक्ष कल्पना चापागाईले पर्यटन क्षेत्र उच्च प्राथमिकतामा परेको बताउँदै पर्यटन क्षेत्रको विकासका लागि व्यवसायको गुणस्तरमा ध्यान दिनु जरुरी रहेको बताउनुभयो । पछिल्लो समयमा महिला पनि अगाडि आएको कुरा औल्याउँदै उहाँले यत्तिकैमा सन्तोष मानेर बस्ने अवस्था भने नरहेको उल्लेख गर्नुभयो ।

तालिमको शुभारम्भ कार्यक्रममा चण्डिका शसस्त्र प्रहरी बल कुश्माका प्रमुख शसस्त्र प्रहरी उपरीक्षक रमेश सुवेदी, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख, प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारी, नेपाल पत्रकार महासंघ पर्वतका सचिब गणेश गिरी, नेपाल पर्यटन वोर्डका प्रवन्धक सूर्य थपलिया लगायतले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो । तालिममा पर्वत जिल्लामा पर्यटन भित्राउनका लागि स्थानीय स्तरमा गरिने सीपहरुको बारेमा जानकारी गराईने छ । नेपाल पर्यटन वोर्डका प्रवन्धक थपलियाका अनुसार तालिममा पाहुनाहरुको स्वागत, आतिथ्यता, व्यवस्थापन लगायतका कामहरु कसरी गर्ने भन्ने बारेमा प्रशिक्षण दिईने छ । तालिममा नेपाल पर्यटन बोर्डका प्रशिक्षक झंकप्रसाद ढकाल र उर्जा ल्यावका कार्यकारी निर्देशक बिबेक सापकोटाले प्रशिक्षण दिईरहनुभएको छ । तालिमको शुभारम्भ कार्यक्रम पूर्व सांसद तथा रेडियो दिदीबहिनी अध्यक्ष कल्पना चापागाईको अध्यक्षतामा भएको थियो । कुस्मा नगरपालिका वडा नं ७ का सदस्य परशुराम पुरीले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको संचालन वडा नं. ७ कै अध्यक्ष सुवासचन्द्र पौडेलले गर्नुभएको थियो । तालिममा कुस्मा नगरपालिका वडा नं. ७ का बासिन्दाको सहभागिता रहेको छ ।