९ चैत्र

काठमाडौँ — सुदूरपश्चिम प्रदेश सरकारले बैतडीको दोगडाकेदार गाउँपालिका–३ को ‘सुनखोला नदी तटबन्ध गर्न’ प्रदेशको बजेटमार्फत ७५ लाख रुपैयाँ विनियोजन गरेको छ । भर्खरै मात्र जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका सबइन्जिनियर गोविन्द भट्टको टोली त्यो योजनाको डिजाइन तयार गर्न स्थलगत भ्रमणमा जाँदा त्यहाँ ‘सुनखोला’ नै फेला परेन ।

खोला नभेटिएपछि सुनखोला नदी तटबन्धको सट्टा ‘सुनखोला स्कुल तटबन्ध’ भनी योजना संशोधन गरेर कार्यान्वयन गर्ने तयारी भइरहेको छ । सुनखोला खोज्न गएका इन्जिनियर भट्ट भन्छन्, ‘खोला नभेटिएकाले स्कुल तटबन्ध भनेर सच्याइएको छ ।

यस्ता नक्कली काम अन्यत्र पनि गरिएको छ । दोगडाकेदारकै बैतडी–दार्चुला महाकाली लोकमार्गको खम्तोलानजिक ‘टुणाइजर खम्तोला भूक्षय नियन्त्रण’ का लागि प्रदेशले २५ लाख छुट्याएको छ तर त्यहाँ भूक्षय भएकै छैन । २०६६ सालको बर्खामा पहिरो गएको थियो । बैतडी–दार्चुला सडक आयोजनाले २०६७ मंसिरदेखि २०६८ भदौसम्म लोहनी–चन्द्रा एन्ड वसन्त जेभी ठेकेदारमार्फत २ करोड १५ लाख ८९ हजार रुपैयाँ खर्च गरेर उक्त पहिरो पूर्ण रूपमा नियन्त्रण गरिसकिएको छ ।

त्यसैको नाममा फेरि प्रदेशले बजेट विनियोजन गर्‍यो । जिल्ला दैवीप्रकोप उद्धार समिति बैतडीको जिल्ला विपत् प्रतिकार्य योजना २०७४ ले पनि त्यो ठाउँमा भूक्षयको जोखिम किटान गरेको छैन । यस्तै अन्य २१ योजनामा ८ करोड ९५ लाख छुट्याइएको छ ।

२०७५ असार २ को बजेट वक्तव्यमा भौतिक पूर्वाधार विकास मन्त्रालयको कुल ५ अर्ब ३ करोड५१ लाख रुपैयाँमध्ये ठूलो हिस्सा प्रदेशका मन्त्री, सांसद, आफूनिकट नेता र पहुँचवालाको गाउँमाछुट्याइएको छ ।

सुुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरालाई भदौ ३ मा गृहजिल्ला अछामको रामारोसनमा आफ्नै कार्यकर्ताले कालोझन्डा देखाए । बोहराले प्रदेश सरकारको बजेटमार्फत धेरै पैसा आफ्नो गाउँमा छुट्याएर अन्यत्रलाई विभेद गरेको भनेर कार्यकर्ता आक्रोशित भएका थिए । रामारोसन गाउँपालिकाले आयोजना गरेको ‘मन्क्रीसँग जनता’ कार्यत्रममा सहभागी हुन हिँडेका बोहरा कार्यकर्ताले कालोझन्डा देखाएपछि कार्यक्रमै नगरी धनगढीफर्किएका थिए ।

मन्त्री बोहराले आफ्नो गाउँ बान्नीगढी जयगढ गाउँपालिकामा प्रदेश सरकारको धेरै बजेट पारेका छन् । २० वटा योजनाका नाममा त्यो गाउँपालिकाले चालु आर्थिक वर्षमा प्रदेशबाट ११ करोड ५६ लाख रुपैयाँ पाएको छ । जबकि १० वटै स्थानीय तहलाई विनियोजित बजेट ४६ करोड ७५ लाख मात्रै छ । स्थानीयका बुझाइमा बजेटमा यत्रो असन्तुलनको कारक मन्त्री बोहरा हुन् । उनले आफ्नो हात जगन्नाथ गरेका कारण बान्नीगढी जयगढ गाउँपालिकामा अन्यत्रभन्दा धेरै रकम परेको हो ।
गाउँपालिकाका ६ वडामध्ये सबैभन्दा बढी बजेट बोहराकै बसोबास रहेको वडा ६ मा गएको छ । अरू अन्य वडामा गएको भन्दा पाँच गुुणा बढी बजेट वडा ६ मा खन्याइएको छ । त्यहाँ प्रदेश सरकारले यसपालि सडक, खानेपानी, सिँचाइ, तटबन्ध, भवन निर्माणका नाममा ९ करोड ६१ लाख २० हजार रुपैयाँ हालेको छ । यो रकम गाउँपालिकाको कुल पुँजीगत खर्चभन्दा बढी हो । यसपालि गाउँपालिकाको पुँजीगत बजेट ९ करोड १३ लाख ५३ हजार रुपैयाँ मात्रै छ भने अरू वडामा प्रदेशबाट १ करोड ९५ लाख मात्रै विनियोजन गरिएको छ ।

यत्रो बजेट पाए पनि बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्रबहादुर खड्का सन्तुष्ट छैनन् । आफूले सिफारिस गरेका योजनाले बजेट नपाएको दुःखेसो उनले गरे । ‘हामीले पठाएका कुनै योजनामा प्रदेशले बजेट हालेन,’ उनले भने ।

अध्यक्ष खड्काका अनुसार गाउँपालिकाले प्रदेशको बजेट पाउन सडक, खानेपानी, कृषि पूर्वाधार, स्वास्थ्य आदि क्षेत्रमा ३० वटा योजना प्रस्ताव गरेको थियो । ती योजनामा प्रदेशले लगानी गरेन, मन्त्रीका योजना मात्रै परे ।

अछामका कतिपय गाउँपालिकाले मन्त्री बोहराको गाउँमा गएको एउटा योजनाको भन्दा न्यून बजेटमा चित्त बुझाउनुपरेको छ । ढकारी गाउँपालिकामा प्रदेश सरकारले दुइटा मात्रै योजना दियो, रकम पनि ७० लाख मात्रै । बान्नीगढी गाउँपालिकाभन्दा दोब्बर जनसंख्या र ठूलो भूगोल भएको कमलबजार नगरपालिकामा २ करोड २० लाख, मंगलसेन नगरपालिकामा ३ करोड ७० लाख र साँफेबगर नगरपालिकामा ४ करोड १५ लाख मात्रै विनियोजन गरिएको छ ।

मन्त्री बोहराले आफ्नो गाउँ दर्नामा बृहत् खानेपानी आयोजनामा २ करोड रुपैयाँ हालेका छन् । जिल्ला समन्वय समितिअन्तर्गतको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको २ करोड ३५ लाखभन्दा बढी लगानीमा यसअघि त्यहाँ १० वटा खानेपानी आयोजना सम्पन्न भइसकेका छन् । त्यसबाट २०० भन्दा बढी धाराबाट ६४४ परिवारका लागि खानेपानी व्यवस्था भइसकेको छ ।

दिगो खानेपानीका लागि ख्याति कमाएको त्यो परियोजनाले अन्तर्राष्ट्रिय अवार्ड पनि पाएको छ । गाउँपालिका अध्यक्ष खडका भन्छन्, ‘प्रदेशले बाँडेको बजेट देखेर म अचम्भित भएको छु । खानेपानी पुगिसकेका गाउँमा खानेपानीकै नाममा करोडौं हालिएको छ, सडक भइसकेका ठाउँमा त्यस्तै छ ।’

आफ्नो वडामा बजेट खन्याएको सम्बन्धमा मन्त्री बोहरालाई कुनै असजिलो लागेको छैन । उनी भन्छन्, ‘बजेट जोखेर बाँडिँदैन, आवश्यकताअनुसार हाल्ने हो । कान्तिपूरदैनिक वाट