संजय रेग्मी
चैत ८, २०७५
पर्वत : सडकमै खाऔँ, सडकमै रमाऔँ भन्ने नाराका साथ पर्वत जिल्लामा नै पहिलो पटक सडक खाना महोत्सवको आयोजना गरिने भएको छ ।
पर्वत जेसीजको आयोजनामा नयाँ बर्ष २०७६ सालको अवसरमा यही चैत ३० गतेदेखि वैशाख २ गतेसम्म महोत्सवको आयोजना गरिएको पर्वत जेसिजले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । पत्रकार सम्मेलनमा बोल्दै पर्वत जेसिजका अध्यक्ष मोहन आचार्यले नेपाली नयाँ बर्ष मनाउन, पर्वतका सांस्कृति, पर्यटकीय तथा धार्मिक ठाउँको प्रवद्र्धन गर्न, जेसिज अभियानलाई सशक्त बनाउन, स्थानीय कला, संस्कृति र मौलिकतालाई झल्काउन, स्थानीय परिकारको स्वाद चखाउन, पर्वतमा उत्पादित बस्तुहरुको प्रवद्र्धन गर्न र साना तथा घरेलु उद्योग र व्यवसायलाई टेवा पु¥याउनको लागि सडक खाना महोत्सवको आयोजना गर्न लागिएको जानकारी दिनुभयो । महोत्सवमा स्टल राख्ने तथा अवलोकन गर्नेहरुलाई निशुल्क रुपमा प्रवेशको व्यवस्था मिलाईएको पनि पर्वत जेसिजले जानकारी दिएको छ ।
कुश्माको लोकतन्त्रचोकदेखि एभरेस्ट बैंक अगाडि सम्मको सडकमा आयोजना हुने महोत्सवमा स्थानीय उत्पादनका २० ओटा स्टल रहने र करीब २५ हजार दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको छ । महोत्सवमा मःम खाने प्रतियोगिता, जलेवी दनैड लगायतका प्रतियोगिताहरु पनि राखिने भएको छ । महोत्सव सम्पन्न गर्नका लागि झण्डै २५ लाख रुपैयाँ खर्च लाग्न सक्ने अनुमान गरिएको छ । चत ३० गते राती १ बजेसम्म र अरु २ दिन राती ११ बजेसम्म चल्ने महोत्सवमा राष्ट्रिय तथा स्थानीय लोक कलाकारहरुको साथै हाँस्य कलाकारहरुको पनि प्रहसन रहने महोत्सवका निर्देशक शिवप्रसाद सुवेदीले जानकारी दिनुभयो । महोत्सवको बारेमा महोत्सवका मूल संयोजक केदारानाथ आचार्यले पनि प्रष्ट्याउनुभएको थियो । पर्वत जेसीजका अध्यक्ष मोहन आचार्यको अध्यक्षतामा भएको पत्रकार सम्मेलन कार्यक्रमको संचालन पर्वत जेसीजका महासचिव रामु शर्माले गर्नुभएको थियो ।
पर्वत जिल्लामा जेसीजको स्थापना सन् १९९६ मा स्थापना भएको थियो । यूवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा महत्वपूर्ण कार्यक्रमहरु गर्दै आएको जेसिजले बिभिन्न सामाजिक सेवाका कामहरु पनि गर्दै आईरहेको छ ।