संजय रेग्मी
चैत ७, २०७५
पर्वत : नेपाली काँग्रेसका नेता नवराज गुरुङ्गकी आमा स्वर्गीय राधादेवी गुरुङ्गको स्मृतिमा स्थापना भएको राधादेवी स्मृति प्रतिष्ठानको प्रथम साधारण सभा एवं स्मृति कार्यक्रम सम्पन्न भएको छ ।
स्मृति कार्यक्रममा राधादेवीको विचारको सम्मान गर्दै १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । उहाँकी छोरी मथुरादेवी गुरुङ्ग, नाति ओमकार गुरुङ्ग, नातिनी बुहारी हिरासिंह गुरुङ्ग र ज्वाईँ रामकाजी गुरुङ्गले संयुक्त रुपमा अक्षयकोषको स्थापना गर्नुभएको हो । अक्षयकोषबाट आउने ब्याज रकमले जिल्लाका गरिब, दलित तथा बिपन्न बिद्यार्थीहरुलाई छात्रावृत्ति प्रदान गर्नुको साथै दीर्घ रोगीहरुको उपचारमा सहयोग गरिने छ । अक्षकोष स्थापना गर्नुभएका चार जना सहित नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले उक्त रकम संयुक्त रुपमा प्रतिष्ठानका अध्यक्ष लेखबहादुर गुरुङ्गलाई हस्तान्त्रण गर्नुभएको थियो । उहाँहरुले कुश्माको चिलाउने चौतारामा रहेको आनन्द गुम्बालाई पनि १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गर्नुभएको छ । उक्त रकम नेता नवराज गुरुङ्गकी बहिनी मथुरादेवी गुरुङ्गले प्रदान गर्नुभएको थियो ।
स्मृति सभामा बोल्दै काँग्रेस केन्द्रिय सदस्य अर्जुप्रसाद जोशीले स्वर्गीय राधादेवीको प्रेरणा हरेक राजनीतिज्ञको लागि नमूना भएको बताउनुभयो । उहाँको सपना सामाजिक सद्भाव कायम गर्दै हरेक राजनीतिक दलहरुकोबीचमा सहकार्य होस भन्ने रहेकोले सोही अनुसारका काम गरेमा मात्र राधादेवीको इच्छा पूरा जोशीको भनाई छ । यस्तै, नेता नवराज गुरुङ्गले आमा असल हुन सकेमा मात्र सन्तती असल बन्न सक्ने बताउँदै आमा नै पहिलो पाठशाला भएको उल्लेख गर्नुभयो । सामाजिक संस्थाहरुबाट राजनीतिक एकताका लागि सजिलो हुने उहाँको भनाई थियो । स्वर्गीय राधादेवीको जीवनीको बारेमा नेपाली काँग्रेसका जिल्ला सदस्य कुलप्रसाद उपाध्यायले जानकारी गराउनुभएको थियो ।

स्मृति प्रतिष्ठानका अध्यक्ष लेखबहादुरङ्गको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभाका सदस्य लालकाजी गुरुङ्ग, नेकपा पर्वतका संयोजक भक्त कुवँर, महासमिति सदस्य बसन्तहादुर सि.के, नेपाली काँग्रेस पर्वतका उपसभापति दुर्गाबहादुर खत्री, सचिव विश्वप्रकाश प्रसाईँ, कार्यसमिति सदस्य डा. चुडामणि शर्मा, मोदीकाली समाजका सचिव बिपिन गुरुङ्ग, बौद्ध धर्मगुरु जनता लामा, कुश्मा नगरपालिकाकी उपप्रमुख सिता काप्mले लामिछाने, नेपाली काँग्रेस कुश्मा नगरपालिका ३ दुर्लुङ्गका सभापति डण्डपाणी शर्माले पनि मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव उत्तम अधिकारीले गर्नुभएको थियो ।
वि.सं. १९९१ सालमा जन्मीनुभएकी राधादेवीको देहावसन २०६४ सालमा भएको थियो ।