संजय रेग्मी
चैत ६, २०७५
पर्वत : फागु पूर्णमाको अवसरमा मनाईने तोरन्लो पर्व पर्वतमा रहेका थकाली समुदायले पनि मनाएका छन ।

थकाली सेवा समिति नेपाल पर्वतको आयोजनामा एक कार्यक्रमको आयोजना गरी पर्व मनाईएको हो । तोरन्लो पर्वको अवसरमा आयोजना गरिएको बिशेष समारोहमा बोल्दै कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले थकाली सेवा समाजका व्यक्तिहरू थोरै भएपनि समाजमा रचनात्मक कार्य गरेकोमा प्रशंसा गर्नुभयो । उहाँले सवै जातजाति धर्म र संस्कृतिको संरक्षण गर्न सवैको सहयोग र ऐक्यबद्धता चाहिने धारणा राख्नुभयो । पर्वको अवसरमा सवैलाई सुस्वास्थ्य र दिर्घायुको शुभकामना दिँदै नगरप्रमुख जोशीले थकाली जातीको इमान्दारीताको प्रशंसा गर्नुभएको थियो ।

कार्यक्रममा कुश्मा नगरपालिका वडा नं. ४ की वडाध्यक्ष मिना कर्माचार्य, वडा नं. ६ का वडाध्यक्ष रूद्र गिरी, मादीकाली बुद्ध समाजका अध्यक्ष धनराज गुरूङले पनि थकाली जातीलाई पर्वको अवसरमा शुभकामना प्रदान गर्नुभएको थियो । उक्त कार्यक्रमको संचालन समितिका सचिव विनु तुलाचनले गर्नुभएको थियो भने स्वागत सहसचिव सपना गौचनले गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता थकाली सेवा समिति पर्वतका अध्यक्ष गजेन्द्र तुलाचनले गर्नुभएको थियो ।