संजय रेग्मी
चैत ५, २०७५
पर्वत : हालै प्रकाशन भएको शिक्षा सेवा आयोगको परीक्षाको नतिजामा अनुत्तिर्ण भएका अस्थायी शिक्षकहरुको म्याद थप नगर्न शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय पर्वतले निर्देशन दिएको छ ।

शिक्षा तथा मानव विकास स्रोत केन्द्र भक्तपुरको फागुन २६ गतेको निर्णय अनुसार इकाईको कार्यालय पर्वतले पनि परीक्षामा सहभागी भएर पनि अनुत्तिर्ण भएका शिक्षकहरुको जागरिको म्याद थप नगर्न निर्देशन दिएको हो । संसोधित शिक्षा ऐन २०२८ को दफा ११ च को उपदफामा प्रतिबन्धात्मक वाक्यांशमा बिज्ञापनमा उम्मेद्वार हुन योग्य तर उम्मेद्वार नभएका र उम्मेद्वार भएर प्रतियोगितात्मक परीक्षामा सहभागी तर अनुत्तिर्ण भई छनोट हुन नसकेका अस्थायी शिक्षकहरु प्रतियोगितात्मक परीक्षाको नतिजा प्रकाशित भएको मितिबाट स्वतः अवकाश भएको मानिने छ भनी लेखिएको छ ।

यही नियमभित्र पर्ने पर्वतका अस्थायी शिक्षकहरुको नतिजा हिजो साँझ प्रकाशन भएको थियो । पर्वत जिल्लाबाट अस्थायी सेवामा रहेर परीक्षामा सामेल नभएका वा सामेल भएर पनि अनुत्तिर्ण भएका शिक्षकहरुको सम्झौता आजबाट नै भंग भएको छ ।