४ चैत्र

पर्वत । जिल्लाको मोदी गाउँपालिकाको चौथो गाउँसभा सम्पन्न भएको छ । गाउँ सभाले तीन वटा महत्वपूर्ण विधेयकहरु पारित गरेको छ । गाउँपालिकाको चौथो गाउँ सभामा सामाजिक विकास समितिका संयोजक दलबहादुर मल्लद्वारा प्रस्तावित स्वास्थ्य तथा सरसफाई सम्बन्धी बनेको बिधेयक र बालबालिका अधिकार ब्यवस्थित गर्न बनेको बिधेयक पारित भएको छ ।

त्यसै गरी पूर्वाधार विकास समितिका संयोजक तथा गाउँपालिकाका प्रवक्ता बिमल लामिछानेद्वारा प्रस्तावित पूर्वाधार ब्यवस्थापन सम्बन्धी बनेको बिधेयक समेत गाउँसभाले पारित गरेको छ । गाउँपालिकाको सोमबार सम्पन्न गाउँ सभामा उक्त विधेयकहरु प्रस्तुत भएका थिए । विधेयकहरु माथिको छलफल पछि गाउँ सभाले उक्त विधेयकहरु पारित गरेको गाउँपालिकाका प्रवक्ता लामिछानेले जानकारी दिए ।

गाउँ सभाबाट पारित भएको स्वास्थ्य तथा सरसफाई सम्बन्धि विधेयक पछि गाउँपालिका भित्रको फोहोर ब्यवस्थापन, स्वास्थ्य सम्बन्धि सेवाहरु सञ्चालन गर्न सहज हुने भएको छ । गाउँपालिकाले सुविधासम्पन्न अस्पताल बनाउने यस अघि नै योजना निर्माण गरीसकेको छ ।

उता, पूर्वाधार ब्यवस्थापन सम्बन्धि बनेको विधेयकले घरजग्गाको ब्यवस्थापन देखि शहरी विकासका कार्यक्रमहर समेतको सञ्चालनमा थप सहज हुने प्रवक्ता लामिछानेले जानकारी दिए ।

गाउँपालिकालाई आवश्यक पर्ने धेरै जसो कानूनहरुको निर्माण भईसकेको गाउँपालिका अध्यक्ष प्रेम पौडेलको भनाई छ । पौडेलले अत्यावश्यक र नियमित गर्नुपर्ने कार्य फुकाउनका लागि आवश्यक कानूनहरु निर्माणको काम भईरहेको बताए । उनले प्रदेश र संघले निर्माण गर्नुपर्ने कतिपय कानूनहरु निर्माण नगर्दा स्थानीय तहहरुमा कानून निर्माण गर्न भने समस्या परीरहेको बताए ।