४ चैत्र

पर्वत/राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले निमार्णाधिन सबै बिकास योजनाहरु समयमा सम्पन्न भए मात्रै नागरिकले लाभ लिन सक्ने बताउनुभएको छ ।
पर्वतको मोदी गाउँपालिकाको दोस्रो स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले योजनाहरुको ढिलाईले नागरिकले प्रतिफल लिन नसकेको हुँदा समयमा नै योजनाहरु सम्पन्न गर्न जोड दिनुभएको हो ।
उहाँले सरकारले बजेट विनियोजन गरेका योजना समयमा सम्पन्न नहुँदा विकास निमार्णमा समस्या भएको बताउनुभयो । ‘विकास निमार्णलाई पहिलो प्रथामिकता राखेर सरकारले साना–ठूला थुप्रै योजनालाई बजेट विनियोजन गरेको छ,’ उहाँले भन्नुभयो, ‘तर, समावेश योजना र बजेटको काम समयमा सुरु नहुने र निमार्णाधिन योजना पनि समयमा सम्पन्न नहुँदा राष्ट्रलाई ठूलो नोक्सान भएको छ ।

अध्यक्ष तिमिल्सिनाले योजना समावेश गर्नु मात्रै ठूलो विषय नभएको बताउँदै समयमा सम्पन्न गराउन तथा गुणस्तरीय बनाउन सरकारी संयन्त्र र स्थानीय उपभोक्ता बढी सक्रिय हुनुपर्ने धारणा राख्नुभयो । उहाँले अहिले सडक, पुल, पर्यटन पूर्वाधारलगायत क्षेत्रमा थुप्रै बजेट विनियोजन भएपनि काम हुन नसक्नु मुख्य समस्या भएको बताउनुभयो ।
‘योजना समयमा सम्पन्न तथा गुणस्तरीय नहुनुको कारण पहिचान गर्न जरुरी छ,’ उहाँले भन्नुभयो, ‘नीतिगत रुपमा परिमार्जन गर्न जरुरी भए त्यसमा पनि सरकारले ध्यान दिनुपर्छ ।’
उहाँले पर्वत जिल्लामा पनि राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गलगायत थुप्रै साना–ठूला योजनाको काम भइरहेको बताउँदै त्यसको गुणस्तरमा स्थानीय जनप्रतिनिधि, प्रशासन र उपभोक्ताले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

सरकारले जनतालाई उद्यमशीलताको विकासका लागि पर्यटन, होमस्टे, कृषि, पशुपलान लगायत विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरेको बताउँदै त्यसको सही सदुपयोग हुनुपर्ने धारणा अध्यक्ष तिमिल्सिनाले राख्नुभयो । ‘विकासका पूर्वाधारलाई जनताको जीवनस्तर सुधार गर्न प्रयोग गर्नुपर्छ, अनि मात्रै देश समृद्ध बन्न सक्छ,’ उहाँले भन्नुभयो ।
सो अवसरमा उहाँले पर्वतको मोदी गाउँपालिकामा पञ्चासे, भमरकोट, हम्पाल लेक लगायत थुप्रै पर्यटकीय गन्तव्य रहेकाले ती ठाउँमा पूर्वाधार विकास तथा प्रचार गरी व्यवसायीक रुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य जुनादेबी नेपालीले पर्वत जिल्लाको बिकास निर्माणको कामलाई गतिदिन प्रदेश सरकारबाट हुन सक्ने सबै समन्वय भैरहने प्रतिबद्धता जनाउनुभयो । प्रदेशसभा सदस्य ललितकला गुरुङ्गले जनताले प्रत्यक्ष राहत पाउने गरि बिकास निर्माणका काम हुनुपर्नेमा जोड दिनुभयो ।
मोदी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मनोहर बिश्वकर्मा पौडेल, मोदी गाउँपालिकाका उपाध्यक्ष सेती महत, प्रबक्ता बिमल लामिछाने, प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङ्ग लगायतले बोल्नुभएको थियो । सो अवसरमा तल्लो मोदी जलबिद्युत आयोजना र मोदी गाउँपालिकाको लगानीमा निर्मीत मोदीसभाहलको अध्यक्ष तिमिल्सीनाले उद्घाटन गर्नुभएको थियो भने गाउँपालिकाभरमा उत्कृष्ट काम गर्ने बिभिन्न सघसंस्था, पेशा ब्यबसायी, खेलाडी तथा कर्मचारीहरुलाई पुरस्कृत गरिएको थियो । न्यूजडवलीवाट