संजय रेग्मी
चैत ४, २०७५
पर्वत : पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल र प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीलाई सम्मान गरिएको छ ।

गत फागुन ४ गते राती कुश्मा नगरपालिका ५ मोदीवेणीमा रहेको नृसिंह मन्दिरबाट शालिग्राम शिला चोरी गर्नेहरुलाई पक्राउ गर्न सफल भएको भन्दै उहाँहरुलाई सम्मान गरिएको हो । उहाँहरु दुवै जनालाई नेपाल राष्ट्रका एक मात्र जगतगुरु अनन्त श्री बिभूषित श्री बालसन्त महोनशरण देवाचार्य महाराज स्वामीले सम्मान पत्र सहित दोषल्ला ओढाएर सम्मान गर्नुभएको हो ।

पर्वत जिल्ला सहित यस क्षेत्रकै पवित्र तिर्थस्थल मोदीवेणी धामका भगवान चोरी भएकोमा निरन्तरको खोजीपछि चोरहरुलाई पक्राउ गरी हराएका सबै शालिग्राम शिलाहरु सकुशल फिर्ता गराउन सफल भएको भन्दै उहाँहरुलाई सम्मान प्रदान गरिएको हो । नृसिंह मन्दिर संरक्षण तथा धार्मिक पर्यटकीय विकास समितिको आयोजनामा सम्मान कार्यक्रम राखिएको हो भने प्रजिअ ढकाल र डिएसपी तिवारीलाई सम्मान गर्नकै लागि जगदगुरु पर्वत आउनुभएको हो । सम्मान कार्यक्रममा बोल्दै उहाँले हिन्दू धर्मावलम्बीहरुले शालिग्राम शिलालाई भगवानको रुपमा पूजाआज गर्दै आएको र त्यसमा पनि मोदीवेणीमा रहेका शालिग्राम शिलाहरु ५ सय बर्ष पुराना तथा बिशेष रहेको बताउनुभयो । प्रशासन र प्रहरीले हराएका भगवानको खोजी गरेर भगवान फिर्ता ल्याएकोमा उहाँले बिशेष आदार र सम्मान प्रकट गर्नुभयो ।

सम्मान कार्यक्रमको संचालन नृसिंह मन्दिर संरक्षण तथा धार्मिक पर्यटकीय विकास समितिका अध्यक्ष केशवदास बैरागीले गर्नुभएको थियो भने स्वागत समितिका निवर्तमान अध्यक्ष तथा नृसिंह गुठीका संरक्षक गोपालदास बैरागीले गर्नुभएको थियो ।

गएको फागुन ४ गते राती नृसिंह मन्दिरको ठोकाको ताला काटेर शालिग्राम शिलाहरु चोरी भएका थिए । प्रहरीले शिलाहरु चोरी भएको २१ औँ दिनमा चोरीमा संलग्न ३ जनालाई पक्राउ गर्नुका साथै छमर्केमा रहेको जंगलबाट लुकाएर राखिएको अवस्थामा शालिग्राम शिलाहरु फेला पारेको थियो । चोरीमा ४ जनाको संलग्नता रहेको र अझै एक जनाको पहिचान भैसकेको भएपनि फरार रहेकोले पक्राउ गर्न बाँकी रहेको प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।