ठाकुर रसाईली
चैत १, २०७५
पर्वत : गाउँपालिकाले सम्पादन गर्दै आएका कामहरुप्रति असन्तुष्टी जनाउँदै नेपाली काँग्रेस महाशिला गाउँपालिकाले गाउँपालिकामा ध्यानाकर्षण सहितको ज्ञापनपत्र बुझाएको छ ।
गाउँपालिकाले जनपक्षीय काम नगरेको, प्रतिपक्षलाई पेलेर जान खोजेको र प्रतिपक्षीलाई दुःख दिने गरेको, आँफूखुसी चल्न खोजेको, गाउँपालिकाको कार्यालयलाई नेकपाको पार्टी कार्यालयजस्तो बनाएको आरोप लगाउँदै काँग्रेसले ज्ञापनपत्र बुझाएको हो । गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाउँदै नेपाली का्रँग्रेसले गाउँपालीका जनपक्षीय बनाउँदै जनप्रतिनिधि कुनै एउटा पार्टीको नभई सबैको साझा बन्न आग्रह गरेको छ । ज्ञापनपत्र गाउँपालिकाका अधिकृत किशान बहादुर क्षेत्रीलाई बुझाएको गाउँपालिका प्रत्यासी तथा काँग्रेस नेता उज्ज्वल गुरुङले जानकारी दिनुभयो ।
ज्ञापन पत्र बुझाउन गुरुङ सहित नेपाली कांग्रेस जिल्ला सदस्य एवं स्थानीय नेता अशोक उच्चै ठकुरी, तरुण दल जिल्ला सदस्य स्थानीय नेता सन्तोष हमाल, नेपाली कांग्रेस महाशिला गाउँपालिका संयोजक धनबहादुर थापा लगायत जानुभएको थियो । ज्ञापनपत्र बुझाउने क्रममा पनि काँग्रेसका नेताहरुले महाशिला गाउँपलिका सच्चिएर जनप्रतिनिधि सबैको साझा बन्न माग गर्नुभयो । गाउँपालिकाले फेरि पनि पेलेर जान खोजेमा नेपाली काँग्रेस महाशिला गाउँपालिकाले चरणबद्ध रुपमा बिरोधका कार्यक्रम गर्ने बताएको छ ।