२४ वैशाख

विराटनगर, विराटनगर जुटमिल सञ्चालन गर्ने क्रममा भएको अनियमितता सरकारले छानविन गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले विराटनगर जुटमिलमा भएको अनियमितता छानविन गर्ने जानकारी दिए ।

विराटनगर जुटमिल अवलोकनपछि मन्त्री यादवले जुटमिलको दुरावस्था रहेको भन्दै सञ्चालन गर्ने नाममा भएका अनियमितताको छानविन गरिने बताए । जुटमिलमा भएका अनियमितता छानविन गर्न मन्त्रालयले समिति गठन गरेर काम अघि बढाउने उनले स्पष्ट पारे । यादवले भने, ‘जुटमिल सञ्चालन गर्ने नाममा अहिलेसम्म भएका अनियमितता छानविन गर्न तत्कालै समिति निर्माण गरिने छ ।’ समिति निर्माण गर्न महान्यायधिवक्तासँग छलफल समेत गरिसकेको यादवले बताए ।

उनका अनुसार विगतका सञ्चालकहरूले जुटमिलका सामान बिक्री गरेको, जग्गा बिक्री गरेको र सक्कली मेशिन औजारहरू गायब बनाएर नक्कली सामान जडान गरेको गुनासो मन्त्रालयमा आएको छ । ‘ऐतिहासिक जुटमिलमा भएका पित्तलका सामानहरू बेचेर रबरका सामान जडान गरिएको, सरकारी शेयर हत्याउने प्रयास भएको, विभिन्न बहाना पारेर उद्योग बेचेर खाने सबै षडयन्त्रको छानविन हुन्छ’, यादवले भने ।

यादवले जुटमिलमा राजनीतिक पहुँचका आधारमा कर्मचारी नियुक्त हुने अनि कामै नगरी तलब पचाउने प्रवृति अब अन्त्य गर्ने दाबी पनि गरे । जुटमिलमा हुने गरेका वेथिति अन्त्य गर्न विभिन्न खालका सुधारका काम थाल्ने यादवले बताए । जुटमिलको शेयर व्यापारीलाई बेचेर मिल सञ्चालन हुने अवस्था नदेखिएका कारण अब, किसान, मजदुर र सर्वसाधारणलाई शेयर बिक्री गरिने छ ।

कर्मचारी तथा मजदुरलाई जागिर पाएपछि हटाउन नसकिने प्रावधान खारेज गरि काम नगरी तलब नदिने व्यवस्था लागु गरिने छ । यस्तै कुण्डले मुण्डलेको जमाना गइसकेको दाबी गर्दै मन्त्री यादवले दादागिरी गरे खुट्टा भाँचिदिने चेतावनी समेत दिए । यादवले भने, ‘जनताको सम्पत्तीमा कुण्डले मुण्डले लगाएर दादागिरी देखाउन खोजे खुट्टा भाँचिनेछ ।’ सञ्चालक समितिका सदस्यहरूलाई लक्षित गर्दै यादवले भने, ‘सरकारको फुली लगाएर कुण्डले मुण्डलेको संरक्षण गर्नेको हालत देखि हाल्नु भो थुनामा पर्ने काम तपाईहरू नगर्नुस् ।’
नागरिकबाट