२१ वैशाख

काठमाडौं । सिन्डिकेट जोगाउनुपर्ने पक्षमा रहेका यातायात व्यवसायीले बिहीबार मध्यान्हबाट लामो दूरीका लागि छुट्ने बस बन्द गराएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले घोषणा गरेको आन्दोलनअनुरुप लामो दूरीका बस रोकेको हो ।

महासंघले आज सांकेतिक रपमा देशभर सबै सार्वजनिक यातायात सेवा ठप्प पार्ने कार्यक्रम घोषणा गरेको छ । महासंघका एक सदस्यकाअनुसार मध्यान्हभन्दा पछि छुट्ने सवारी आज सडकमै भेटिने भएकाले  गाडी रोकिएको हो ।

‘आज ढिला छुट्ने बस राति नै गन्तब्यमा पुग्दैनन् । त्यसो हुँदा भोलिको बन्द प्रभावकारी हुँदैन । त्यसैले आज मध्यान्हपछि समितिहरुका बस छुट्दैनन्,’ उनले भने,’नाइट बसहरु चल्दैनन् ।’

नयाँबसपार्कको व्यवस्थापन गरिरहेको लोत्से बहुउद्देश्यीय प्रालिकाअनुसार विहान १ सय २० वटा बस विभिन्न लामो गन्तब्यका लागि छुटेका छन् । लोत्सेका व्यवस्थापक पंकज मल्लले केही मितिहरुले काउन्टर बन्द गरेको र केही बन्द गर्ने तयारीमा रहेको  जानकारी दिए ।

मल्लले आफूहरुले समितिहरुलाई सेवा सुचारु राख्न अनुरोध गरिरहेको जानकारी दिए ।

‘बस एकातिर छ । ड्राइभर एकातर्फ छन् । काउन्टर बन्द भएका छन्,’ उनले भने,’आजको बन्दका लागि बाहिर जाने बस रोकिएका छन् ।’