१९ वैशाख

काठमाडौं : काठमाडौँ नजिकैको जिल्ला काभ्रेमा विमानस्थल १५ दिनभित्र आन्तरिक विमानस्थल बन्ने ठाउँको टुंगो लगाउने घोषणा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारीले गरेका छन्।

आन्तरिक उडानको चापका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक बढेकाले राजधानी नजिकै आन्तरिक विमानस्थल निर्माण गर्नुपरेको मन्त्री अधिकारीले बताए।

उनले भने, ‘विगतदेखि नै काभ्रेमा आन्तरिक विमानस्थल बनाउने भनेर धेरै छलफल भयो तर काम अगाडि बढ्न सकेको थिएन, अब हामी छिटोभन्दा छिटो राजधानी नजिकै वैकल्पिक विमानस्थल बनाउने छौं।’

वैकल्पिक विमानस्थलले त्रिभुवन विमानस्थलको ट्राफिक घटाउन उल्लेखनीय भूमिका खेल्ने उनको भनाइ थियो।

विज्ञहरुले अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाउने गरी तत्कालै काभ्रेमा विमानस्थल बन्न सम्भव नभएको बताएका छन्। नागरिक उड्डयन प्राधिकरणका एक इन्जिनियरले भने, ‘तीब्र गतिमा काम हुँदा पनि विमानस्थल बन्न कम्तीमा ५ वर्ष लाग्नेछ। ६ महिना सम्भाव्यता अध्ययन गर्न र १ वर्ष वातावरणीय प्रभाव मूल्यांकन (इआईए) गर्न लाग्छ। प्रारम्भिक सम्भाव्यता अध्ययन र इआईए प्रतिवेदन बनेपछि बृहत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरी विमानस्थल बनाउन साढे तीन वर्ष लाग्नेछ।’

काभ्रेमा बन्ने एयरपोर्टमा साना जहाज चलाउने सरकारको योजना छ। मन्त्री अधिकारीले भने, ‘काठमाडौंबाट पहाडी रुटमा चल्ने साना जहाजलाई मात्र काभेबाट सञ्चालन गर्न सकियो भने त्रिभुवन विमानस्थलमा थप अन्तर्राष्ट्रिय उडान गर्न सकिने छ।’

एभियसन क्षेत्रका जानकारले काभ्रेमा सानो विमानस्थल बनाउनुभन्दा छिटोभन्दा छिटो पोखरा र भैरहवा विमानस्थलमा बनाउनुपर्ने बताएका छन्।

यता नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक सञ्जीव गौतमले संसारमा प्रत्येक वर्ष १५ प्रतिशतले एयर ट्राफिक बढिरहेको र नेपालमा पनि ७ प्रतिशतभन्दा बढीले एयर ट्राफिक चाप बढिरहेकाले काठमाडौं नजिकै वैकल्पिक विमानस्थल आवश्यक पर्ने दाबी गरे।

काभ्रेपलाञ्चोकका निर्वाचित सांसद तथा सूचना, सञ्चार तथा प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले त्रिभुवन विमानस्थलको चाप घटाउन भन्दा पनि काभ्रेको विकासका लागि एयरपोर्ट बनाउनु पर्ने बताए।