१९ वैशाख

काठमाडौं,  अछाम कालेकाँडा गाउँपालिका वडा नम्बर ९ स्थित् भानाकोट बल्दे घर भएकी १८ वर्षिया उर्मिला टमाटा (टंकी) को रहस्यमय निधन भएको भन्दै उनका आफन्तले दोषीको पहिचान गरि कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर मृतकका दाजुहरु लक्ष्मण टमाटा र मदन टमाटाले आफ्नी बहिनीको हत्या गरिएको भन्दै हत्यामा सलंग्न दोषीलाई कानूनी कारबाही गर्नुपर्ने माँग गरेका छन् ।

हालै सम्पन्न एसइईको परिक्षा दिएर बिदामा बसेकी उर्मीलाको हत्या अछामको कालेकाँडा गाउँपालिकामा भएको हो । मृतक उर्मीलाको शव उक्त गाउँपालिका वडा नम्बर ९ बल्देस्थित तिलक बटालाको घरमा मंगलबार बिहान फेला परेको दाजु लक्ष्मण टमटाले पत्रकार सम्मेलनमा जानकारी दिए । मृतक उर्मिलाका दाजुहरुले आफ्नी बहिनीको हत्या नीज बटालाले नै गरेको आरोप लगाउँदै अनुसन्धान गरि कडा कारबाही गर्न माग गरे ।

कालेकाँडा गाउँपालिका वडानम्बर ९ मा आफ्नो ठूलो बुवाकोमा बस्दै आएकी उर्मीलाले कालिकोटको नरहरीनाथ गाउँपालिका वडा नम्बर १ स्थित् कोटवाडा परीक्षा केन्द्रबाट परिक्षा दिएकी थिईन् ।

तिलक बटाला पेशाले स्वास्थ्यकर्मी हुन । बटालाले आफ्नी बहिनीलाई अनेक प्रकारका लोभ देखाएर शारीरिक स्वार्थ पूरा गरेको र पछिल्लो समयमा आएर उनले आफ्नो घरमा लगेर हत्या गरेको दाजुहरुको आरोप छ । विगत डेढ वर्षदेखी बटाला र आफ्नी बहिनीबीच प्रेम सम्बन्ध रहेको हल्का जानकारी भएको टमाटाले बताए ।  हत्यामा सलंग्न दोषीलाई पक्राउ गरेर कडा सजायको ग्यारेण्टी नभएसम्म बहिनीको लास नबुझ्ने उनीहरुको भनाई छ ।