१८ वैशाख

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको चूडामणि उप्रेती गोरेको सुन रहस्यमय तरिकाले गायब गरेको आरोप लागेपछि काठमाडौंबाट सनम शाक्य उर्लाबारी आएका थिए । डरले २३ माघमा सनम र मोहन अग्रवाल भारत गएका थिए ।

तर, परिवार नै सखाप पर्ने धम्कीपछि केही दिनमै नेपाल फर्केका थिए । उनीहरू उर्लाबारी घरमै बसेर गायब भएको सुनको खोजीमा थिए । सनमकी पत्नी सुनिताका अनुसार वेलावेला मोहनकी पत्नीले हामीलाई अप्ठ्यारोमा पार्न खोजेका छन् भन्थिन् । तर, अवैध सुनकाण्डबारे भने सुनितालाई केही थाहा थिएन ।

१६ फागुन बिहान जरुरी फोन आयो भनेर सनम घरबाट निस्किएका थिए । उनले १७ फागुन दिउँसो खाना खाए–नखाएकोबारे पत्नी र छोरीलाई फोनबाट सोधेका थिए । राति सनम घर आएनन् । दुई वर्षदेखि काठमाडौं बस्दै आएका पति सनमसँग भोलिपल्ट होली भएकाले सपरिवार होली खेल्ने सुनिताको धोको थियो ।

तर, होलीको दिन बिहानसम्म सनम घरमा आएनन् । यसैले सुनिताले १८ फागुनमा सनमका साथी मोहनलाई फोन गरेर पति (सनम) कहाँ छन भनेर सोधेकी थिइन् । मोहनले ‘दाइ बिजी मिटिङमा हुनुहुन्छ, आत्तिनुपर्दैन आइहाल्नुहुन्छ’ भनेका थिए । सुनिता मोहनको जवाफपछि आश्वस्त भएकी थिइन् । तर, १९ फागुनको बिहान ११ बजेतिर प्रहरीबाट खबर आयो– विराटनगरको पोखरियामा पति सनमको शव फेला परेको छ, सनाखत गर्न जानुपर्‍यो । खबर सुनेर सुनिता बेहोस भइन् ।

गोरे समूहले यसरी गरेको थियो केरकार
गायब साढे ३३ केजी सुन पत्ता नलागेपछि गोरे समूहले शंका लागेका सनम र मोहनलाई जंगलमा लगेर करेन्ट लगाएर केरकार गर्ने योजना बनाएका थिए । यसैले धरानको कन्ट्री क्लबको छलफलपछि गोरेले आफ्नो समूहको सहयोगमा उर्लाबारी नगरपालिका ७ कान्छीचोक क्षेत्रको सुनसान स्थानमा लगेर यातना दिने निधो गरे । स्थानीयवासीसमेत भएकाले गोरेलाई उक्त स्थानबारे राम्रो जानकारी थियो ।

अरूले शंका नगरून् भनेर गोरे समूहले पिकनिक गएकोजस्तो देखाउन केही भाँडा, तयारी खाना र पानीका कार्टुनहरू पनि सँगै लगेको थियो । गाडीमा करेन्ट लगाउन अलग्गै ब्याट्री र तार अनि बाध्नका लागि प्लास्टिकका डोरीहरू पनि लगेका थिए । कान्छीचोकका प्रत्यक्षदर्शीहरूका अनुसार १६ र १८ फागुन दिउँसो दुई दिन एउटा स्कारपियो र एउटा टाटा जिप कान्छीचोक पश्चिम जंगलतिर लागेका थिए । भिआइपी गाडी खोलापारि गएको देखे पनि होलीमा पिकनिक आएको होला भनेर कसैले पनि शंका गरेनन् । कान्छीचोकबाटै केही युवाले पानीका कार्टुनहरू गाडीमा हालेर लगेका थिए ।

गोरे समूह उर्लाबारी– १ कान्छीचोक पश्चिम सोल्टी खोलापारि रहेको प्रगति सामुदायिक वन क्षेत्रमा पुग्यो । त्यहाँ गाडी जान अप्ठ्यारो भएपछि उनीहरूले खनेर बाटो बनाए । त्यसपछि गाडी चौरमा उक्लियो । त्यही चौरमा उनीहरूले ढुंगाको सानो चुलो बनाएर सामान्य आगो बालेजस्तो गरेर एउटा भाँडा पनि बसाले । पकाउनेभन्दा पनि उनीहरूले ल्याएका तयारी खाना खाँदै र बोतलको पानी पिउँदै केरकार गर्ने काम गरे ।

चौरबाट भित्र जंगलमा सालका तीनवटा रूखमा पालैपालो बाँधेर करेन्ट लगाउँदै यातना दिए । उनीहरूले त्यहाँ एउटा खाल्डो पनि खनेका थिए । सायद त्यही खाल्डोमा गाड्ने योजना थियो । सनमलाई मुखमा टिस्युपेपर खाँदेर यातना दिइएको थियो । पहिलो दिन सामान्य केरकार गरिएको थियो । र, फर्केर इटहरीतिरको होटेलमा वास बसेका थिए ।

यातनाले आलसतालस भएका सनमलाई होलीमा रक्सी धेरै खाएर बेहोस भएको भनिएको थियो । र, १८ गते होलीको दिन बिहानै फेरि त्यही ठाउँमा पुगेर यातना दिइएको थियो । दिनभर यातना दिँदा पनि कुनै कुरा नखुलेपछि पुनः सनमलाई गाडीमा हालेर इटहरीतर्फ ल्याइएको थियो । गाडीमै सनमको मृत्यु भइसकेको थियो ।

स्थानीय सामुदायिक वनका कर्मचारी नरेश बराइलीका अनुसार जंगलभित्र रूख काट्ने कर्मचारीहरूले वन क्षेत्रमा भिआइपी गाडी ठूलो साउन्डमा बाजा घन्काएर बसेको र पटकपटक बोकोजस्तो आवाज आएको सुनेका थिए । अहिले पनि घटनास्थलमा रूखहरूमा करेन्टका चोट देख्न सकिन्छ । प्रहरीले स्थानीय आठजनालाई देखी–सुनी जान्ने साक्षीका रूपमा राखेको छ ।

गोरेले फसाए : सनमपत्नी सुनिता
सनमपत्नी सुनिताले गोरेले श्रीमान्लाई फराएको बताएकी छिन् । गोरे, उनका भाइ रमेश र पत्नी निरूलगायतलाई प्रहरीले पक्राउ गरेर कारबाही गर्नुपर्ने सुनिताको माग छ । सुनिता भन्छिन्, ‘अझै अरू सनमहरूको ज्यान नजाओस् भनेर नाइके गोरे मात्र नभएर तस्करीमा संलग्न सबैलाई जेल हाल्नुपर्छ ।’

अरूका छोरा नमारिऊन् : सनमकी आमा कल्पना
छोरो आफ्नै ठाउँमा सानोतिनो कारोबार गरेर जीवन चलाइरहेको थियो । आफ्नो परिवारमा रमाइरहेको थियो । लोभलालच उसमा थिएन । घर बेचेर अन्तै घडेरी किन्ने र बचेको पैसाले ठेक्कापट्टा गर्ने उसको योजना थियो । तर, दुई वर्षअघि विकेश र गोरे भन्ने साथीले फकाएर काठमाडौं लगे । गोरेको व्यापारको लेखा हेर्ने काम गर्छु, सामान्य तलब छ भन्थ्यो । हामीलाई कहिल्यै अकुत पैसा ल्याएर दिएको पनि छैन ।

एकपल्ट बुहारी र छोरीलाई काठमाडौं घुमाउन लगेको थियो, त्यो पनि मेरो करले । सम्पत्तिको नाममा हाम्रो यही एउटा चियापसल र काठको घर छ । जीवन चलाउने अर्को उपाय छैन । गोरेले नबहकाएको भए मेरो सनम काठमाडौं जाने नै थिएन । काठमाडौं नगएको भए उसको ज्यान पनि नजाने रहेछ । यसैले गोरेलाई जहाँबाट भए पनि पक्रेर ल्याउनुपर्छ । अनि संलग्नहरू सबैलाई जेल हाल्नुपर्छ । अनि मात्र हामीलाई सन्तोष हुन्छ । नत्र अरू धेरैका छोराहरू मारिनेछन् ।

को–को छन् फरार ?

प्रहरीको खोजी सूचीमा रहेका चूणमणि उप्रेती (गोरे), उनका भाइ रमेश उप्रेती, पत्नी नर्वदा खरेल उप्रेती (निरू) सहित मोहनकुमार अग्रवाल (एमके), रक्षा भण्डारी, प्रयास पराजुली, रोहित आचार्य, कृष्ण बस्नेत, मोहमद उस्ताम मियाँ (रुस्तम), भविन तामाङ भनिने भविन राई, कमल कार्की, सन्दीप खड्का, चेतन भण्डारी, सुनिल अग्रवाल, प्रमोद श्रेष्ठ, डोलेन्द्रप्रसाद खरेल, दावा शेर्पा, भोजराज भण्डारी, दुर्गा खरेल (उप्रेती), भीमकुमारी खरेल र सुरेन्द्र गौतमलगायत फरार छन् । नयापत्रिका वाट