१६ वैशाख

जनकपुर । प्रदेश २ को प्रदेशसभाको बैठक अवरुद्ध भएको छ । नेपाली कांगसले प्रतिपक्षी दल तोक्न माग गर्दै बैठक अवरुद्ध गरेको हो ।

यसअघिको बैठकमा समेत प्रतिपक्षी को हो भन्ने विषयमा प्रश्न उठेको थियो । शनिबार बसेको बैठक कार्यसूचीमा प्रवेश गर्नु अगावै काङ्ग्रेस सांसदहरु टेबल ठोक्दै प्रतिपक्षी दल को भन्दै प्रश्न गरे ।

कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले प्रतिपक्षमा कुन दल बस्ने भन्ने विषयमा हालसम्म निर्णय नगरिएको प्रति आपत्ति जनाए । यादवले भने, ‘साढे दुई महिनादेखि सदन चलेको छ । तर, प्रतिपक्षी दलको टुंगो लाग्न सकेको छैन ।’

सुरूमा प्रमुख विपक्षी बनेको एमालेले मुख्यमन्त्रीलाई बिश्वासको मत दिएको छ । चैत ११ गतेको सहमतिअनुसार पाँच दिनभित्र सभामुखले प्रतिपक्षमा कुन दल बस्नेबारे निर्णय गरेर सदनमा जानकारी गराउनुपर्ने थियो’, यादवले भने, ‘तर, एक महिना भन्दा बढि भइसके पनि प्रतिपक्षका विषयमा निश्कर्ष निस्कन नसक्नु निन्दनीय हो ।’

प्रदेशमा सरकारलाई समर्थन गरेको एमाले प्रतिपक्ष बेञ्च छाड्न तयार छैन । तर, कांग्रेसले त्यसमा विरोध गरेको छ । एकातर्फ सकरारलार्इ समर्थन गर्ने र अर्कोतर्फ प्रतिपक्ष ताक्ने क्रियाकलाप उचित नभएको नेता यादवको भनाइ छ ।

स विषयको टुंगो नलागेसम्म सदनको कारवाही अघि बढ्न नदिने भन्दै कांग्रेसका सांसदहरु उभिएपछि संसद बैठक चल्न सकेन ।

शनिबारको बैठकमा मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ र मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ०७५ प्रस्तुत गर्ने कार्यसूची थियो ।