१३ वैशाख

पर्वत । पर्वतको जलजला गाउँपालिकाका क्षेत्रमा सञ्चालीत उद्योग, पसल, फर्म र ब्यवसायलाई स्थानीय तहको मातहत ल्याउन सुरु गरिएको छ ।

गाउँपालिकाको ९ वटै वडामा रहेका ब्यापार ब्यवसायलाई दर्ता प्रक्रियामा ल्याउन लागिएको हो । वडा स्तरमा जनप्रतिनिधि र कर्मचारीहरुको टोली परिचालन गरेर अनुगमन तथा ब्यवसाय दर्ता गर्न सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष सिमा गर्बुजा पुन, ९ नम्बर वडा बनौका अध्यक्ष गौबहादुर पुन, ३ नम्बर वडाका अध्यक्ष देवेन्द्र भण्डारी (रवी) र उद्योग शाखाका कर्मचारीहरुको टोलीले मंगलबार बनौका पसलहरुको अनुगमनका साथै चार जनाको ब्यवसाय दर्ता गरेको छ । दर्ता नगरी सञ्चालन हुदै आएका पसल, ब्यवसाय, उद्योगलाई व्यवस्थित, नियमन र करको दायरामा ल्याउन लागिएको प्रमुख प्रशासकीय अधिकृत गौतमले बताउनुभयो ।

नियमनकारी निकायको पहुँचको कमी तथा ब्यवसायीको बेवास्ताका कारण ग्रामिण क्षेत्रका अधिकांश पसल, ब्यवसाय दर्ता बिनै सञ्चालन हुदै आएका छन् । प्रति व्यवसाय दर्ताका लागि दुई हजार रुपैया शूल्क निर्धारण गरिएको छ ।

मिलनचोक, वारीबेनी, मल्लाज, लस्ती जलजलाका मूल्य बजार क्षेत्र हुन भने बस्ती, बस्तीमा पसल रहेका छन् ।