१३ वैशाख

पर्वत- नेपाल ट्रेड युनियन काँग्रेस पर्वतको हालै सम्पन्न पाँचौं जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको पदस्थापन कार्यक्रम आज एक समारोहका बीच सम्पन्न भएको छ ।  पदस्थापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिनिधिसभाका सदस्य लालकाजी गुरूङले ट्रेड युनियन काँग्रेस नेपाली काँग्रेस निकट विभिन्न श्रमिकहरूको साझा संगठन भएको उल्लेख गर्दै श्रमिक अधिकार र पेशागत हकहितको पैरवी गर्दै नेपाली काँग्रेसको संगठन सुदृढिकरणमा समेत क्रियाशील रहन सबै निर्वा्चित समितिलाई सुझाव दिनुभएको थियो । काँग्रेसका पूर्व सभापति समेत रहेका गुरूङले निर्वाचनको परिणामलाई लिएर निराश नहुन सबै कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस पर्वतका पार्टी सभापति खिमप्रसाद भुसालले विगतका कमीकमजोरीहरूलाई सच्चाएर अब सबै काँग्रेसको शिर ठाडो हुनेगरि काम गर्न काँग्रेसका भातृ तथा शुभेच्छुक संघ संगठनहरूलाई आग्रह गर्नुभएको थियो ।

नेपाल ट्रेड युनियन काँग्रेस पर्वतका अध्यक्ष सुरेन्द्र केसीको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य बसन्तबहादुर सिकेस नेपाल ट्रेड युनियनका संस्थापक अध्यक्ष रूद्रबहादुर रिमाल र नेपाल ट्रेड युनियन काँग्रेसका उपाध्यक्ष योगराज गिरी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष जानकीकुमारी शर्माले गर्नुभएको थियोभने कार्यक्रमको संचालन सचिव गोविन्द सुवेदीले गर्नुभएको थियो ।

कार्यक्रममा पाँचौ अधिवेशन निर्वाचन समितिका मूख्य निर्वाचन अधिकृत हरिनारायण रेग्मीले अध्यक्षसहित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू र केन्द्रीय प्रतिनिधिहरूलाई सपथ गराउनु भएको थियो । सोही कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेस पर्वतका पूर्व सभापति लालकाजी गुरूङलाई ट्रेड युनियन काँग्रेस पर्वतको तर्फबाट सम्मान समेत गरिएको थियो ।