१० वैशाख

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक चलिरहँदा बाहिर नेविसंघका नेता कार्यकर्ताले  पार्टी कार्यालय बाहिर प्रदर्शन गरेका छन् । सोमबार महामन्त्री कुन्दन काफ्ले नेतृत्वको नेविसंघका नेता कार्यकर्ताले पार्टी कार्यालय बाहिर धर्ना र प्रर्दशन  गरेका हुन् । धर्ना र प्रर्दशनपछि  सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र समेत बुझाइएको थियो  ।

ज्ञापनपत्र बुझ्दै सभापति  देउवाले नेविसंघको मागलाई गम्भीरता पूर्वक लिएर कार्यान्वयन गर्ने वचन दिएको काफ्लेले बताए।

सो अघि नेविसंघका कार्यकर्ताले  सभापति  देउवाको कार्यशैलीका कारण पार्टी चुनावमा पराजित र कमजोर  हुन पुगेको, नेविसंघका अध्यक्षले पनि संगठन स्वेच्छाचारी ढंगले चलाएको लगायतका आरोप लगाउँदै चर्को नाराबाजी गरेका थिए ।

उनीहरुले विधान विरोधी नेविसंघ नेतृत्वलाई पार्टीले संरक्षण बन्द गर्नुपर्ने, संगठनलाई पारदर्शी बनाउन तत्काल  महाधिवेशनको मिति तोकिनुपर्ने लगायतका माग समेत गरेका थिए । नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले   अध्यक्ष नैनसिंह महरले  विधानको धज्जी उठाउँदै टीके प्रथा कायम गरेको भन्दै त्यसलाई खारेज गरी विधिसम्मत ढंगले संगठन चलाउँदै तत्काल १२ औं महाधिवेशनको मिति घोषणा गर्न दवाव दिने उद्देयले नेतृत्वलाई ज्ञापनपत्र बुझाइएको जानकारी दिए ।