८  वैशाख

पर्वत दुर्लुड, प्रतिनिधिसभा सदस्य लालकाजी गुरूङलाई आफ्नो गृहनगर दुर्लुङमा भव्य स्वागत गरिएको छ । सांसद गुरूङलाई आज दुर्लुङमा बाजागाजासहित स्वागत तथा सम्मान गरिएको थियो । दुर्लुङबासीको तर्फबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले सांसद गुरूङलाई खादा र मालासहित सम्मान गर्नुभएको थियो ।

स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले प्रतिनिधिसभा सदस्यको पद पाएर खुसी हुने लालकाजी गुरूङ र दुर्लुङबासीहरूभन्दा आफू अझै बढि खुसी भएको जानाकारी दिनुभयो । केन्द्रीय सदस्य जोशीले दुर्लुङको बाटो; बिजुली; सिंचाई; खानेपानीका साथै शिक्षा र स्वास्थ्यको लागि काँग्रेसले गरेको योगदानको तुलनामा अन्य राजनीतिक दलले केही पनि नगरेको दाबी गर्दै काँग्रेसले गरेको विकासका आधारमा भोट नआउनु दुर्लुङ काँग्रेसभित्रकै आन्तरिक द्वन्द भएको वताउनु भयो । काँग्रेस नेता जोशीले काँग्रेसले आफूले गरेका कामको प्रचार गर्न नसक्नु पनि काँग्रेस पराजयको कारण भएको वताउनुभयो । नेता जोशीले विगतका सबै कुरा बिर्सेर पार्टीलाई नयाँ ढंगले अघि बढाउन काँग्रेस एक भएर अघि बढ्न सुझाव समेत दिनुभयो । उहाँले दुर्लुङबासीको तर्फबाट आफूले निरन्तर पाएको मायाका लागि आफू सँधै ऋणि रहने समेत वताउनुभएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका पूर्व पार्टी सभाति तथा प्रतिनिधिसभाका सदस्य लालकाजी गुरूङले प्रतिवन्धित अवस्थादेखि नेपाली काँग्रेसमा बसेर आफूले धेरै पसिना बगाएको वताउँदै पहिलोपटक पार्टी नेतृत्वले आफ्नो योगदानको मूल्याङ्कन गरेर प्रतिनिधिसभा सदस्य बनाएकोमा नेतृत्वका प्रति आभार व्यक्त गर्नुभयो । सांसद गुरूङले प्रत्यक्षतर्फ पर्वत जिल्लामा काँग्रेस हारेपनि कार्यकर्तालाई निराश नहुन सुझाब दिँदै पर्वतको विकास र समृद्धिका साथै कार्यकर्ताको संरक्षणका लागि आफू सक्रियतापूर्वक लाग्ने प्रतिवद्धता जनाउनु भयो ।

कार्यक्रममा नेपाली काँग्रेसका सभापति खिमप्रसाद भुषालले पछिल्लो निर्वाचनबाट जनताले काँग्रेसलाई प्रतिपक्षमा बसेर संगठन निर्माण गर्ने आदेश दिएकाले एकअर्काप्रतिको आरोप प्रत्यारोप त्यागेर भावनात्मक रुपमा एक भइ संगठन सुदृढिकरणको अभियानमा लाग्न सबै काँग्रेस कार्यकर्ताहरूलाई सुझाव दिनुभयो । त्यसैगरि नेपाली काँग्रेस पर्वतका पूर्व पार्टी सभापति नवराज गुरूङले पर्वतको राजनीतिक इतिहासमा आफू जनप्रतिनिधिका रूपमा कहिल्यै संसदमा जान नपाएपनि दुर्लुङको विकासका लागि र दुर्लुङबासीको सेवाका लागि आफू सँधै क्रियाशील भएर लाग्ने प्रतिवद्धता जनाउनु भयो । नेता गुरूङले पर्वतमा काँग्रेसलाई एक ढिक्का बनाउन अब अर्जुन जोशी; लालकाजी गुरूङ र नबराज गुरूङ एकसाथ ६१ वटै वडामा पुग्नुपर्ने बेला आएको वताउँदै त्यो एकताको अभियान पहिलोपटक दुर्लुङबाट शुरूवात गरेको दाबी गर्नुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य ललितकला गुरूङ; कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी; नेपाली काँग्रेस पर्वतका महासमिति सदस्य बसन्तबहादुर सिके; नेपाली काँग्रेस पर्वतका महाधिबेशन प्रतिनिधि थमनबहादुर गुरूङ; नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सदस्य चुडामणि शर्मा आचार्य; नेपाली काँग्रेस पर्वतका जिल्ला सदस्य लेखबहादुर गुरूङ; नेबि संघका पूर्व अध्यक्ष एवं नेपाली काँग्रेस जिल्ला कार्य समितिका सदस्य लेखनाथ पौडेल; नेबि संघ पर्वतका संस्थापक अध्यक्ष एवं नेपाली काँग्रेस पर्वतका जिल्ला सदस्य कुलप्रसाद उपाध्याय; नेपाली काँग्रेस दुर्लुङका पूर्व सचिब रेश्मीराज शर्मा; राष्ट्रिय प्रजातन्त्र पार्टी कुश्मा नगरपालिका वार्ड नं ३ का सचिव सनम गुरूङ; नेपाल ट्रेड युनियन काँग्रेस पर्वतका अध्यक्ष सुरेन्द्र केसी; नेपाली काँग्रेस कुश्मा नगरपालिका ३ का चुनाब प्रचार समितिका संयोजक शंकर गुरूङ लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

नेपाली काँग्रेस कुश्मा नगरपालिका ३ का वडा सभापति बालकृष्ण शर्माको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन सचिव कुलराज पोख्रेलले गर्नुभएको थियो भने स्वागत मन्तब्य वडा समितिका सहसंयोजक डण्डपाणी पाध्याले गर्नुभएको थियो । साथै धन्यबाद मन्तव्य स्थानीय निर्वाचनमा वडाअध्यक्षका उमेदवार कृष्णप्रसाद पौडेलले राख्नुभएको थियो ।