संजय रेग्मी
वैशाख ६, २०७५

पर्वतः नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले हुने बिरुवाको चिल्लो पात नहुने बिरुवाको फुस्रो पात भने जस्तै वर्तमान सरकार पनि फुस्रो पात भएको बताएका छन।

प्रदेश नं. ४ को नेपाल तरुण दलको पर्वतमा बिहीबारबाट शुरु भएको प्रशिक्षण कार्यक्रमको उद्घोटन गर्दै नेता पौडेलले सरकारको बिषयमा धेरै बोल्ने बेला नभएको बताउँदै सरकारका फुस्रो पात देखिएको उल्लेख गरे । नेता पौडेलले भने, ‘सरकारको बारेमा धेरै भन्ने बेला भएको छैन। हुने बिरुवाको चिल्लो पात, नहुने बिरुवाको फुस्रो पात भन्छ। फुस्रा पातहरु देखिन थालेका छन। यसका काम कारबाहीहरु देश र जनताको पक्षमा काम गर्ने खालका देखिएका छैनन। यहाँ राष्ट्रीयता पनि ढाँटछल छ, अहिले विकास पनि ढाँटछल छ अनि विकास र न्याय समानता पनि ढाँटछल छ।’

एमाले र माओवादी मिलेर कम्युनिष्ट बनाउने अनि नेपालमा कम्युनिज्म ल्याउने भनेर भूmठको खेती भैरहेको भन्दै नेता पौडेलले नेपालमा कम्युनिज्म ल्याउन एमाले र माओवादीलाई चुनौती पनि दिए। उनले भने, ‘अहिले यिनीहरुको भनाई कम्युनिष्ट भन्ने छ, यदि तिमीहरुको भनाई र गराई एउटै हो भने म तिमीहरुलाई च्यालेन्ज गर्न चाहान्छु, तिमीहरु कम्युनिज्म ल्याएर हेर नेपालमा। प्रचण्ड र ओलीलाई यहीँबाट म ठाडै भन्न चाहान्छु कम्युनिज्म ल्याएर हेर, होईन भने जनतालाई ढाँट्न पाईँदैन।’ नेपालमा कम्युनिज्म ल्याउने भनी जनतालाई ढाँटेर प्रचण्ड र ओलीले आप्mनै कार्यकर्तालाई मात्रै पालिरहेको नेता पौडेलको आरोप छ।

आप्mनै पार्टीको प्रसंगमा उनले नेतृत्वप्रति असुन्तुष्टी जनाउँदै जनता र पार्टीको नेतत्व गर्ने मान्छेले नयाँ योजना सोच्ने, बोल्ने र गर्नुपर्ने बताए। अबको काँग्रेसलाई कर्मशील बनाउनको लागि नेतृत्वले फरक तरीकाले काम गर्नुपर्ने उनको भनाई थियो।

कार्यक्रममा काँग्रेस केन्द्रिय सदस्य तथा पूर्व अर्थमन्त्री डा. रामशरण महत, केन्द्रिय सदस्य तथा पूर्व रक्षा मन्त्री बालकृष्ण खाँण, केन्द्रिय सदस्य प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, सुरेन्द्र पाण्डे, अर्जुनप्रसाद जोशी, प्रदीप पौडेल नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जितजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईँ, तरुण दलका महामन्त्री भूपेन्द्रजंग शाही, कोषाध्यक्ष बिद्धान गुरुङ, तरुण दलका पूर्व अध्यक्ष उदयशमशेर राणा लगायतका नेताहरुहरु सम्बोधन गरेका थिए।
नेपाल तरुण दल केन्द्रिय समितिको आयोजना र पर्वत जिल्ला कार्यसमितिको संयोजनमा बिहीबारदेखि शुरु भएको भेला शुक्रबार सकिनेछ। भेलामा ११ जिल्लाका २ सय जना प्रतिनिधी सहभागी छन। भेलाले तरुण दलको आगामी रणनीति र माउ पार्टी नेपाली काँग्रेसको अवस्था सुधारमा महत्वपूर्ण निर्णय गर्ने तरुण दल पर्वतका अध्यक्ष राज मल्ल ठकुरी बताए।