६ वैशाख

धनगढी, प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नी छोरीलाई सरकारी विद्यालयमा भर्ना गराएका छन् ।

यसअघि पनि डोटीमा सरकारी विद्यालयमै अध्ययनरत आफ्नी छोरीलार्इ मुख्यमन्त्री भट्टले बुधवार प्रदेश ७ को राजधानी धनगढीस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ८ मा भर्ना गराएका हुन् ।

यसअघि मुख्यमन्त्री भट्टकी छोरी पुष्पा डोटीको केआईसिंह गाउँपालिकामा रहेको देवस्थली माबिमा अध्ययनरत थिइन् ।

बुधवार विहान कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, धनगढी उपमहानगरपालिकाका मेयर नृप वडसहित राष्ट्रिय माबिमा पुगेर मुख्यमन्त्री भट्टले आफ्नी छोरीलाई कक्षा ८ मा भर्ना गराएका हुन् ।
विद्यालय भर्ना अभियानलाई प्रभाकारी बनाउन मुख्यमन्त्री भट्टले आफ्नी छोरीसहित अन्य ११ जना बालबालिकालाई पनि भर्ना गराए ।

भर्नापछि प्रतिक्रिया दिँदै भट्टले सरकारी र सामुदायिक विद्यालयको शैक्षिक गुणस्ततर अभिबृद्धि गर्न भर्ना अभियानलाई प्रभावकारी बनाइने बताए ।

‘शिक्षक, कर्मचारी लगायत उच्च ओहोदाका ब्यक्तिहरु अनिवार्य रुपमा आफ्ना वालवालिकालाई सरकारी स्कुलमा भर्ना गर्नुहोस्,’ मुख्यमन्त्री भट्टले भने, ‘आफ्ना बालबालिका भर्ना भएका सरकारी विद्यालयप्रति सधैं चासो राख्नुहोस्, अनिमात्र शिक्षाको गुणस्तरमा सुधार हुन्छ ।’