२४ चैत्र

वीरगन्जः हिन्दु युवा संघका तत्कालिन केन्द्रीय अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा रौतहटको कटहरिया नगरपालिकाका मेयर सियराम कुशवाहालाई जन्मकैदको सजाय भएको छ । जनकपुर उच्च अदालतको अस्थायी इजलास वीरगन्जले गत फागुन २८ गते सियारामलाई जन्मकैदको फैसला सुनाएको हो ।

यसअघि तिवारीको हत्या अभियोगमा चार वर्ष पहिले नै पक्राउ परेका सियारामलाई पर्सा जिल्ला अदालतले सफाइ दिएपछि रिहा भएका थिए । तर चार वर्ष पहिलेको जिल्ला अदालतको उक्त फैसालालाई उल्टयाउदै जनकपुर उच्च अदालतको अस्थायी इजलास वीरगन्जले सियारामलाई जन्मकैदको फैसाला सुनाएको हो ।

जनकपुर उच्च अदालतको वीरगन्ज इजलासका न्यायधीशद्वय लेखनाथ घिमिरे र नारायणप्रसाद श्रेष्ठको संयुक्त इजलाशले फागुन २८ गते नै सियरामलाई जन्मकैदको फैसला सुनाएको हो । तर उनलाई प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन ।

जनकपुर उच्च अदालतको अस्थायी इजलास वीरगन्जका रजिष्ट्रार बाबुराम दाहालले अदालतको फैसला कार्यान्वयनका लागि फैसलाको लगत जिल्ला अदालतमा पठाएपछि जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालयमार्फत सियरामविरुद्ध पक्राउ पुर्जी जारी गर्ने बताए ।

हिन्दु युवा संघका तत्कालीन अध्यक्ष काशीनाथ तिवारीको २०६७ साल असार १२ गते साँझ वीरगन्जको अशोकवाटिकास्थित शिव पार्वती मन्दिर परिसरमा गोली हानी हत्या गरिएको थियो ।

प्रहरीका अनुसार, मोटरसाइकलमा सवार भएर मन्दिरमा पुगेका सियराम कुशवाहा र बाराको हरैयाका अमनप्रसाद कुशवाहामध्ये सियरामले पेस्तोलबाट गोली चलाएर तिवारीको हत्या गरेका थिए ।

हत्यापछि फरार रहेका सियरामलाई प्रहरीले तिवारीको हत्या भएको साढे तीन वर्षपछि २०७० साल पुस १ गते चितवनको भण्डराबाट पक्राउ गरेको थियो ।

तर जिल्ला अदालत पर्साले निर्दोष रहेको भन्दै सफाइ दिएपछि उनी पक्राउ परेको एक महिनामै रिहा भएका थिए । तिवारीको हत्यामा संलग्न बारा हरैयाका अमनलाई भने प्रहरीले २०६८ साल भदौ २२ गते पक्राउ गरको थियो । उनी हाल वीरगन्ज कारागारमा छन् । अमनकै बयानका आधारमा प्रहरीले सियारामलाई पनि पक्राउ गरेको थियो ।

स्थानीय तहको निर्वाचनमा रौतहटको कटहरिया नगरपालिकाको मेयरमा निर्वाचित सियरामले जन्मकैदको फैसलाबारेमा आफूलाई कुनै जानकारी नभएको बताए ।

‘अहिलेसम्म मलाई यो फैसलाबारे केही जानकारी छैन’, उनले भने, ‘यदि यो फैसला भएकै हो भने ममाथि अन्याय भएको छ, तर न्यायलयप्रति मलाई पुरा भरोसा छ, अब सर्वोच्चमा अपिल गर्छु, मलाई विश्वास छ मैले न्याय पाउँछु ।’ रौतहटका प्रहरी उपरिक्षक यज्ञ विनोद पोख्रेलले पनि यसबारे आफुलाई जानकारी नभएको बताए ।