२३ चैत्र

पोखरा २२ चैत्र । लाइफ ज्याकेट नलगाएकै कारण डुङगाबाट तालमा खस्दा तनहु दुलेगौडाका राजु गुरुङको मृत्यु भएको छ । परिवारलाई लिएर गुरुङ आफैले बिना लाइफ ज्याकेट डुङगा चलाउने क्रममा शसस्त्र प्रहरीको मोटरबोटको छालले डुङगालाई अनियन्त्रित गराएपछि गुरुङ तालमा खस्न पुगेका थिए ।
बिहीबार अपराह्न्न फेवा किनारको पहारी घाटबाट आफ्नो आफन्तको डुङगा लिइ स्वयं आफैले बिना लाइफ ज्याकेट बाराही मन्दिर परिक्रमा गर्ने क्रममा मन्दिरको दक्षिण भागमा डुङगा अनियन्त्रित हुदा डुङगा चालक गुरुङ एक्कासी तालमा खस्न पुगेका थिए ।

तालबाट तत्काल उपचारको लागी मेट्रोसिटी अस्पताल पु-याएको भएतापनि उनलाई चिकित्सकले मृतक घोषित गरेका थिए । यसबारेमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । आफन्तको डुङ्गा लिइ बिना लाइफज्याकेट डुङगा सवार गरेकै कारण एक्कासी तालमा खस्दा डुवेर मृत्यु भएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव निरीक्षक खड्क बहादुर खत्रीले वताए । आजको घटनाको अनुसन्धान जारी रहेको र आगामी दिनमा यस्ता घटना नदोहोरियोस भनेर कास्की प्रहरीले पोखराको सम्पूर्ण घाटबाट सञ्चालन हुने डुङगामा सवार गर्ने यात्रुलाई लाइफ ज्याकेट लगाएर मात्र डुङगामा सवार गर्नका लागी ब्यवशायीलाई सचेत गराइने समेत खत्रीले वताए ।

फेवा डुङगा ब्यवशायी समितीका कर्मचारी नारायण श्रेष्ठले समितीले फेवातालमा सञ्चालन हुने डुङगामा जुनसुकै घाटबाट यात्रा गर्दा अनिवार्य लाइफ ज्याकेटको ब्यवस्था गरिएको भएतापनि आजको घटनामा लाइफ ज्याकेट नलगाएकै कारण गुरुङको तालमा डुवेर मृत्यु भएको वताए । गुरुङले पहारी घाटबाट आफन्तको डुङगा मागेर डुङगा चलाउदै जांदा शसस्त्र प्रहरीको तालिममा प्रयोग भएको मोटरबोटको छालले हल्लाउदा डुङगा अनियन्त्रित भइ तालमा खस्दा डुवेर मृत्यु भएको श्रेष्ठले वताए । उनले लाइफ ज्याकेट लगाएको भए पानीमा खसेपनि मृत्यु हुन नसक्ने र तत्काल उद्धार हुने वताए ।