२१ चैत्र

रुकुम(पश्चिम) बाँफिकोट गाउँपालिका वडा नम्वर २ हरलचरीमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । घाँस काट्न चिउरीको रुख चढेकी २४ वर्षीया सीता बोहरा पौडेलको बुधबार बिहान ७ बजेतिर लडेर मृत्यु भएको हो ।

रुखवाट लडेर गम्भीर घाईते भएकी पौडेललाई उपचारका लागि रुकुम (पूर्व) सिस्ने गाउँपालिका ८ धपे लैजादै गर्दा बाटोमा ज्यान गएको स्थानीय बलवहादुर खत्रीले जानकारी दिए । मृतक पौडेलको टाउकोमा गहिरो चोट लागेको थियो । पौडेलका श्रीमान र २ छोरा रहेका छन् । श्रीमान मोहन पौडेल रोजगारीका लागि कतारमा रहेको बताईएको छ ।

यता सानीभेरी नदिमा बगेर रुकुम(पश्चिम) सानीभेरी गाउँपालिका ३ गरायलाका एक बालक वेपत्ता भएका छन् । मंगलबार साथीहरुसँग सानीभेरी नदिमा पौडी खेल्न गएका १२ वर्षीय खड्क बिक बगेर वेपत्ता भएको प्रहरीले जनाएको छ ।

विगत ४ वर्षदेखि मावली सानीभेरी गाउँपालिका ४ मेघामा बस्दै आएका बिक मेघा ज्युलाबाट मंगलबार दिउँसो २ बजेतिर सानीभेरी नदिमा बगेको बताईएको छ । मंगलबारबाटै खोजी कार्य जारी रहेपनि बिकलाई फेला नपरेको जिल्ला प्रहरी कार्यालय रुकुम(पश्चिम)ले जनाएको छ । घरपरिवार,मावली,स्थानीय र प्रहरीले उनको खोजी गरिरहेका छन् ।