असार १२ गते शंकास्पद रूपमा मृत फेला परेका भोजपुर अरुण गाउँपालिकाका तीन बालबालिका १४ वर्षीय रञ्जीव सापकोटा, १३ वर्षीय सुष्मा फुयाल र ८ वर्षीय प्रदीप फुयाल । फाइल तस्बिर

२१ चैत्र

काठमाडौँ । नौ महिनाअघि भोजपुरको पूर्वी अरुण गाउँपालिका ३ मा भएको तीन अबोध बालबालिकाको ‘शंकास्पद’ मृत्यु अनुसन्धानमा प्रहरी नै उदासीन देखिएको छ । हत्या आशंकामा जिल्ला, क्षेत्र र केन्द्र गरी तीन तहमा प्रहरी अनुसन्धान गरिए पनि कतैबाट निष्कर्ष आउन नसक्दा स्थानीयमा आशंकासँगै त्रास बढेको छ । अनुसन्धान कहाँ पुग्यो ? किन अडकियो भनी सोध्दा अनुसन्धानमा संलग्न प्रहरी निकाय एकले अर्कालाई औंल्याएर पन्छन थालेका छन् ।

अरुण गाउँपालिका ३ का १४ वर्षीय रञ्जीव सापकोटा, १३ वर्षीय सुष्मा फुयाल र ८ वर्षीय प्रदीप फुयालको स्थानीय निर्वाचनताका गाउँमै ‘शंकास्पद’ मृत्यु भएको थियो । असार १० गते साँझ अचानक हराएका तीनै बालबालिकाको शव १२ गते मरेङडाँडास्थित स्थानीय तोरन कार्कीको माछापोखरीमा फेला परेको थियो । अनुसन्धानमा संलग्न निकाय र जिल्लाको राजनीतिक नेतृत्व ‘चुपचाप’ देखिनुले तथ्य सार्वजनिक नहुने र सम्भावित दोषी उम्कने सम्भावना बढेको छ ।
उक्त घटनाबारे सुरुमा जिल्ला प्रहरी कार्यालय र क्षेत्रीय अनुसन्धान ब्युरो, विराटनगरले एकसाथ एक महिना लामो अनुसन्धान गरेका थिए । उनीहरूको अनुसन्धान ढिलो र शंकास्पद बन्दै गएको स्थानीयको गुनासोपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) टोली नै साउन १३ गते घटनास्थल पुगी एक साता अनुसन्धान गरेर फर्केको थियो । अनुसन्धान अधिकृत दधिराम न्यौपानेको नेतृत्वमा खटिएको सीआईबी टोलीले घटनाबारे सत्यतथ्य ल्याउने अपेक्षा पीडित परिवारले गरेका थिए । तर यतिन्जेलसम्म यथार्थ पत्ता लाग्नुको साटो अनुसन्धान नै सुस्ताएपछि पीडित परिवार निराश छन् ।
‘चाँडै पत्ता लाग्ला कि भन्ने आस थियो, अचेल त कसैलाई वास्तै छैन, घटना त सामान्य पो बनिदियो,’ रञ्जीवका बुबा रवीन्द्र सापकोटा भन्छन् । उनीहरूमा आशाको त्यान्द्रो भने अझै बाँकी छ । ‘ढिलोचाँडो त पत्ता लाग्ला नि !’ मृतक सुष्मा र प्रदीपका बुबा चेतनाथ फुयालले भने । ‘अनुसन्धान’ भन्दै गुपचुप बनाइदिने हुन् कि भन्ने शंका पनि लागेको उनले बताए ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपेन्द्र पञ्जियार थारू सम्पूर्ण अनुसन्धान सीआईबीले हेरेकाले आफूलाई जानकारी नभएको भन्दै पन्छिए । ‘सीआईबीले हेरेको घटनाबारे हामीले बोल्न मिल्दैन, उतै बुझ्नुस्,’ उनले चासो राख्नेलाई यही जवाफ फर्काउने गरेका छन् ।
सीआईबीका डीआईजी पुष्कर कार्की भने अहिलेसम्मको अनुसन्धानका डकुमेन्ट, पोस्टमार्टम रिपोर्ट, भिसेरा, डायटम परीक्षण प्रतिवेदन, स्थानीयको बयान र प्राविधिक विश्लेषण हेर्दा कसैले कर्तव्य गरी मारेको नदेखिएको बताउँछन् । ‘एक लेभलको अनुसन्धान केन्द्र र प्रदेशको चुनावअघि नै जिल्ला प्रहरी कार्यालयमा पठाइसकिएको छ । अनुसन्धान बन्द भएको छैन । जिल्ला प्रहरी कार्यालयले क्लु भेटेको खण्डमा अनुसन्धान अघि बढ्छ,’ उनले भने । ‘हामीले अनुसन्धानमा सहयोग गरेको हो, विस्तृत बुझ्न जिल्लाकै डीएसपीसँग बुझ्नुस्,’ उनले थपे ।
घटना सामान्यीकरण हुँदै जाँदा रिपोर्टहरूमा कर्तव्य नगरिएको देखिनुलाई पीडित पक्ष ‘शंकास्पद’ ठान्छ । पोस्टमार्टम रिपोर्ट पीडित पक्षलाई नदेखाइनु र भोजपुर सदरमुकाममा नगरी शव धरान लैजानुले सत्यतथ्य लुकाउन खोजिएको आशंका पीडितको छ । डीआईजी कार्की भने यो आरोप स्वीकार गर्दैनन् । ‘भोजपुरमा पोस्टमार्टम नगर्दैमा रिपोर्ट लुक्ने होइन, पोस्टमार्टम रिपोर्टका विषयमा सरोकारवालाले छलफल गर्न पाउँछन् तर रिपोर्ट दिनुपर्छ भन्ने हुँदैन,’ उनले भने । कार्कीले बिनाआधार हत्या भनेर नलेख्न पत्रकारहरूलाई पनि आग्रह गरे । ‘हामीले हदैसम्मको अनुसन्धान गरेका छौं, अनुसन्धान त विशेषज्ञले गर्ने हो, पत्रकारले हत्या गरेको भनेर लेखिदिने कुरा मिलिरहेको छैन,’ उनले भने । केस अदालत नपुगी, अदालतबाट नटुंगी अनुसन्धान टुंगिएको वा सुस्त भएको भन्न नमिल्ने उनको भनाइ छ ।
प्रविधि नहुँदा अलमल
पोस्टमार्टम गरिएको अस्पताल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘डाइटम कम्पेयर टेस्ट’ प्रविधि नहुँदा शंकास्पद मृत्यु घटना अनुसन्धान जटिल बनेको प्रतिष्ठानको भनाइ छ । यो प्रविधिले मृत्यु स्वाभाविक, हत्या, आत्महत्या वा दुर्घटना कुन कारणले भएको भन्ने छुट्याउन सघाउँछ । प्रतिष्ठानमा ‘डाइटम कम्पेयर टेस्ट’ प्रविधि जडान गर्न बढीमा ५ लाख रुपैयाँको माइक्रोस्कोप भए पुग्छ । यसका लागि गृह मन्त्रालयको लिखित स्वीकृति चाहिन्छ । प्रविधि नभएकै कारण बालबालिकाको सामूहिक मृत्युको कारण खुलाउन नसकिएको प्रतिष्ठानको फरेन्सिक विभागले जनाएको छ ।
प्रतिष्ठानका विशेषज्ञले जाँच गर्दा प्रदीपको घाँटीमा खानेकुरा अडकिएको, सुष्मा र रञ्जीवको घाँटीमा चुइगम अडकिएको फेला पारेका थिए । चिकित्सकका अनुसार बालबालिकाको शरीरमा अन्य चोटपटक, दागधब्बा र विषादी थिएन । उनीहरूको मृत्यु डुबेरै भएको वा हत्या गरेर पोखरीमा फालिएको भन्ने छुट्याउन डाइटम कम्पेयर टेस्ट गर्नुपर्ने फरेन्सिक विशेषज्ञको भनाइ छ । काठमाडौं, सामाखुसीस्थित प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालाले प्रविधि अभाव देखाउँदै ‘डाइटम कम्पेयर टेस्ट’ गर्न नसकेको रिपोर्ट दिएको थियो ।
प्रतिष्ठानका फरेन्सिक विशेषज्ञ सहायक प्राध्यापक डा. विकास साह र जुनियर रेसिडेन्ट डा. दीक्षान्त पोखरेलको टिमले बालबालिकाको मृत्युको यकिन कारण खुल्न नसकेको भनी साउन अन्तिम साता प्रहरीलाई रिपोर्ट बुझाएको थियो । डाइटम ल्याब राख्न गृह मन्त्रालयको अनुमति नभएकाले मृत्युको कारण खुलाउन नसकेको रिपोर्टमा उल्लेख थियो । मृतक बालबालिकाको शरीरमा पाइएको र पोखरीको पानीको डाइटम तुलनापछि मात्र मृत्युको सही तथ्य फेला पार्न सकिने उनीहरूको तर्क छ । देशभित्र यस्तो प्रविधि नभए अन्य मुलुकमा लगेर पनि जाँच गर्न सकिने चिकित्सक टिमले प्रहरीलाई सुझाएका थिए । डीआईजी कार्की भने डाइटम टेस्ट केन्द्रीय विधिविज्ञान प्रयोगशालाले नै गरेको बताउँछन् । ‘मृतकको शरीर र पोखरीको पानीमा पाइने डाइटम समान पाइएको छ,’ उनले भने ।
घटनालगत्तै पूर्वसांसद कुमारीलक्ष्मी राईले घटनास्थलमा लगिएको कुकुर चुनावी सुरक्षामा खडा गरिएको सेनाको बिटमा पस्न लाग्दा तानिएको अभिव्यक्ति दिएपछि देशभर यो चर्चाको विषय बनेको थियो । डीआईजी कार्कीले यसलाई असत्य भन्दै आएका छन् । ‘हाम्रो काम अनुसन्धान गर्ने हो, कसले के भन्यो, कसो गर्‍यो भन्ने होइन, कसले के बोल्छ, त्योसँग हाम्रो संगठनलाई नजोड्नुस्,’ उनले भने ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूलाई घटना अनुसन्धानको अहिलेको अवस्थाबारे जानकारी नभएकाले थप बुझेर मात्रै भन्न सक्ने बताए । सांसद सुदन किरातीले भने चाँडै नै सदनमा यो विषय उठाउने बताए । भोजपुरका प्रमुख जिल्ला अधिकारी फणीन्द्र दाहाल पनि यसबारे जानकारी नभएको बताउँछन् । ‘सीआईबीलाई सोध्दा अनुसन्धान प्रक्रियामै रहेको भन्छन्,’ उनले आफूलाई थप जानकारी नभएको बताए ।
घटनाका बेला गोमादेवी चेम्जोङ प्रमुख जिल्ला अधिकारी र काजीकुमार आचार्य डीएसपी थिए । अनुसन्धान विवादित बनेपछि उनीहरूको सरुवा भएको थियो ।
पीडित परिवारको बेहाल
घटनापछि पीडित परिवारको बेहाल छ । फुयालको व्यथा सापकोटाको भन्दा फरक छ । सापकोटा कृषिका कर्मचारी हुन् । फुयालले स्थानीय प्याउली बजारमा फेन्सी पसल गरेर घरव्यवहार धान्दै आएका थिए । तीन सन्तानमध्ये दुईको शंकास्पद मृत्यु भएपछि उनले स्थानीय केशव अधिकारीलाई साढे ४ लाखमा पसल बिक्री गरे । शव पोस्टमार्टमका लागि धरान लैजाँदा गाडी, पोस्टमार्टम र काजकिरिया खर्च धान्न पसल बेच्नुपरेको उनले बताए ।
चेतनाथ गाउँमा बस्ने वातावरण नभएपछि ऋणपान गरेर इटहरीको हलगढास्थित आमाबुबाको घर पुगे । ६ महिनादेखि उनी गाउँ फर्किएका छैनन् । जग्गाजमिन बाँझै छ । आर्थिक अवस्था झन् नाजुक बन्दै गएको छ । छोरी र पत्नी निर्मला बिरामी छन् । ‘डाक्टरलाई देखाउँदा मानसिक चिन्ता भन्छन्, आमाबुबा पनि बुढेसकालको हुनुहुन्छ, म एक्लोले कता थाम्ने, गाह्रो भएको छ,’ निर्मलाले भनिन् ।
स्थानीय तहदेखि संसद्सम्म चासोको विषय बनेको यो घटना अनुसन्धान लम्बिँदै गएकामा प्याउलीवासी आतंकित छन् । साँझ पर्नेबित्तिकै ढोका थुन्छन्, बिहान अबेर खोल्छन् । स्थानीय तह निर्वाचनपछि प्याउलीबजारमा अरुण गाउँपालिकाको कार्यालय बसेको छ । यस घटनापछि कर्मचारी पनि आतंकित छन् । घटना पहिचान हुन नसक्दा विद्यालय पढ्ने उमेरका विद्यार्थी त्रसित छन् । स्थानीय शारदा मावि प्याउलीबजारमै छ । अनुसन्धान सफल नहुनुले सुरक्षाको प्रत्याभूति खडकिएको शिक्षकहरू बताउँछन् ।
घटना रहस्यमै रहेपछि स्थानीय राजकुमार खत्रीको संयोजकत्वमा २० सदस्यीय संघर्ष तथा दबाब समिति बनाइएको थियो । मुख्य सडक भोजपुर–लेगुवा नारदमुनी थुलुङ राजमार्गमा अरुण गाउँपालिकावासीलाई सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने, तत्काल विस्थापित हुनबाट रोक्नुपर्ने, हत्यारा चाँडो पत्ता लगाउनुपर्ने, मृतकलाई सहिद घोषणा गर्नुपर्नेलगायत माग राख्दै समितिले चक्काजाम गरायो । सरकारी तथा गैरसरकारी कार्यालय एक दिन बन्दसमेत गरायो । सदरमुकाम आएर जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पनि पठायो । तर कतैबाट चासो दिइएन ।
जिल्लास्थित राजनीतिक दल र भ्रातृ संगठनहरूले पनि सदरमुकाममा र्‍याली निकालेर जिल्ला प्रशासनमा हस्ताक्षर बुझाए । तर, घटना अनुसन्धान कहाँ पुगेर अडकिएको छ, कोही बोल्न चाहँदैनन्