२१ चैत्र

रोशन तिवारी पर्वत । पर्वतको महाशिला गाउँपालिकामा पर्यटन बिकास र जनजाती समूदायको संस्कृति प्रवर्दन गर्न जनजाती समाजघर निर्माण गर्न थालिएको छ । गुरुङ समूदायको बाहुल्यता रहेको महाशिला ५ दुक्तानमा समाजघर बनाउन थालिएको हो ।

महाशिला ५ का वडाध्यक्ष जीवनविक्रम ठकुरीले सोमबार समाजघर भवनको शिलन्यास गर्नुभयो । उहाँले काममा गुणस्तर कायम गर्न आग्रह गर्नुभयो । दुई वर्षभित्र बन्ने समाजघरका ८ वटा कोठा हुने छन् । गाउँपालिकाले ८ लाख रुपैयाँ सहयोग गरेको छ । ३० लाख रुपैयाँमा निर्माण गरिसक्ने लक्ष्य रहेको घरका लागि अन्य रकम गाउँलेले आफैँ संकलन गरेका छन् । समाजघर बनाउन स्थानीयले श्रमदान गरिरहेका छन् ।

गाउँमा यूवापुस्ताको बिदेश पलायन र पुराना पुस्ताहरुको अवसान संगै गुरुङ समुदायका संस्कृति र रितीरिवाज हराउँदै गएका छन् । गाउँनै गुञ्जिने रोधी, सालैजो र ठाडो भाका समेत लोप हुँदैछ । हराउँदै गएका संस्कृति र रितिरिवाजको संरक्षण गर्न समाजघर निर्माण गर्न थालिएको निर्माण समितिका अध्यक्ष भीमप्रसाद गुरुङले बताउनुभयो । उहाँले समाजघरलाई जनजाती संग्राहलयको रुपमा बिकास गरिने बताउनुभयो । उहाँका अनुसार यहाँ बिभिन्न सामाजिक कार्यक्रमहरु आयोजना गरिने छ भने बेलाबेलामा रोधीघर चलाउने योजना रहेको छ । दुक्तानमा पर्यटन सुचना केन्द्र समेत स्थापना गरिएको छ । समाजघर बनाउन देशबिदेशबाट सहयोग आउन थालेको उहाँले जानकारी दिनुभयो ।

समाजघर संगै चिसापानीमा रहेको होमस्टेलाई पनि थप व्यवस्थित बनाउने योजना रहेको छ । यो गाउँपालिकामा एसियाकै सबैभन्दा ठुलो ढुङ्गा छ । यहि ढुङ्गाको ख्यातीलाई उजागर गर्न गाउँपालिकाको नाम महाशिला राखेपछि यसको प्रचार बढेको छ । यहाँ चिसापानी लेक पनि रहेको छ । महाशिला र चिसापानी घुम्न आउने पर्यटकहरुलाई समाजघरमा स्वागत गर्ने, होमस्टेमा बास बसाउने, र पदमार्गको खोजी गरि पर्यटकको बसाई लम्बाउने गाउँपालिकाको योजना रहेको गाउँपालिकाका अध्यक्ष राजु पौडेलले बताउनुभयो ।