संजय रेग्मी
चैत १९, २०७४

पर्वत : जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले ट्राफिक नियम उल्लघंन गर्नेलाई एक रातका लागि हिरासतमा राख्न शुरु गरेको छ ।

साना खालका कारबाहीलाई सबैले सहज रुपमा लिने गरेको कारण केही बिशेष अवस्थाका ट्राफिक नियम उल्लघंन गरेको अवस्थामा हिरासतमा राख्ने देखि २ हजार रुपैयाँ सम्म जरीवाना तिराउन थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख महेन्द्र रानाभाटले जानकारी दिनुभयो । ट्राफिक प्रहरीले यस खालको कारबाही सबैभन्दा बढी मोडीफाई गरी चर्को आवाज निकाली पडकाउँदै हाँक्ने र सवारी चालक अनुमति पत्र बिना नै सवारी चलाउनेलाई गर्ने छ ।

नागरिकहरुले चार्को आवाजमा मोटरसाईकल चलाउने गरेको भन्दै ट्राफिक प्रहरीमा गुनासो गरेका कारण चेकजाँचमा पनि मोडीफाई गरिएका र चर्को आवाज निकाल्नेहरुलाई बिशेष ध्यान दिईएको हो ।

यही क्रममा ट्राफिक प्रहरीले अनुमति पत्र बिना नै सवारी चलाएका तथा दुर्घटना गराएर भागेका केही व्यक्तिहरुलाई कारबाही समेत गरीसकेको छ । उनीहरुलाई पनि नयाँ कारबाही अन्तरगत एक रात हिरासतमा राख्नुका साथै २ हजार रुपैयाँ जरिवाना पनि तिराइएको छ ।

यसैगरी, सवारी चेकजाँचका क्रममा नियम उल्लघंन गरेको देखिएमा तत्कालै १ मिनेट चालक र सहचालकलाई ट्राफिक नियमको बिषयमा जानकारी दिने गरिएको पनि ट्राफिक प्रहरी प्रमुख रानाभाटको भनाई छ ।