१७ चैत्र
कूश्मा,पर्वतको कुस्माबजारमा शनिबार दिउँसो एक अढाई बर्षिया बालिकालाई अपहरण गरेर भाग्दै गर्दा भीरबाट लडेर एक युवाको मृत्यु भएको छ ।
बालिका अपहरण गरेर भाग्दै गर्दा स्थानियबासीले देखेपछि भागेका ती युवाको कुस्मा नगरपालिका वडा नं ५ चाक्लेडिलको भीरबाट खसेर मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको छैन ।
कुश्मा नगरपालिका ५ चाक्लेडिल नजिकै बस्दै आएकी निशा परियारकी साढे २ बर्षिय छोरी सुवानी परियारलाई एक अपरिचित व्यक्तिले अपहरण गरेर लैजाँदै गर्दा स्थानीयबासीले देखेर हारगुहार गरेपछि उनी भाग्न खोज्दा भीरबाट खसेका थिए ।

स्थानियले बच्चा रोएको सुनेपछि भीर तर्फ हेर्दा बालिकाको मुख अठ्याइरहेको देखेका थिए । स्थानियले हो हल्ला गरे पछि ती यूवा भागेको प्रत्यक्षदर्शीले बताए । बालिका छाडेर भाग्ने क्रममा भीरबाट खसेका ती युवाको प्रहरीले खोजी गर्ने क्रममा मृत अबस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिए ।

बेपत्ता भएका व्यक्तिलाई प्रहरी र स्थानीयबासीहरुको पहलमा खोजि कार्य गर्दा करिव १ घण्टा पछि चाक्लेडिल भीरको करिव २ सय मिटर तल उनी मृत अवस्थामा भेटिएका थिए । अहिले मृतकको सव पोष्टमार्टमका लागि प्रहरीले जिल्ला अस्पताल पर्वतमा राखेको छ ।