१७ चैत्र

बिर्तामोड : जबरजस्ती करणी गरेको आरोपमा दुई पक्राउ परेका छन् । छुट्टाछुट्टै घटनामा संलग्न दुई जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले बताए ।

उनका अनुसार चैत १२ गते बिर्तामोड नगरपालिका–३ सूर्यनगर टोलस्थित पदम खड्काको मकैबारीमा बिर्तामोड–९ निवासी अरुण भन्ने बनुवारी राजवंशीले १८ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको पीडितका परिवारले उजुरी दिएपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका राजवंशीले युवतीलाई विवाहको बहानामा मकैबारीमा बोलाएर हातमुख बाँधेर जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ । राजवंशीलाई झापा जिल्ला अदालतबाट जबजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

त्यस्तै, चैत १४ गते बिर्तामोड–३ स्थित ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा उनका जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ । पीडित महिलाले दिएको उजुरीका आधारमा जेठाजु राजवंशीलाई प्रहरीले पक्राउ गरिएको हो । राजवंशीलाई अदालतबाट जबरजस्ती करणी उद्योग सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।