९, चैत, चितवन । नारायणगढ मुग्लिन सडकमा माथिबाट झरेको ढुंगाले लागेर माइक्रोबस चालकको मृत्यु भएको छ ।

मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा २ ख ५४४९ नम्बरको माइक्रोबस इच्छाकामना ५ खहरेमा आइपुग्दा माथिबाट चालकको सिटमाथि ढुंगा खसेको प्रहरीले जनाएको छ ।

मृत्यु हुने चालकको परिचय खुलेको छैन । बसका अन्य यात्रु भने सकुशल रहेको चितवनका प्रहरी प्रमुख एसपी दीपक थापाले जानकारी दिए । दुर्घटनापछि केहीबेर अबरुद्ध रहेको नारायणगढ मुग्लिन सडकखण्ड अहिले सञ्चालनमा भएको छ ।

नारायणगढ मुग्लिन सडक खण्डको यात्रा धेरै जोखिममा रहेको छ । यस वर्षको असार मसान्त सम्ममा पनि निर्माणकार्य नसकिने हो भने धेरै यात्रूहरुले ज्यान गूमाउनू पर्ने अवस्था आउन सक्दछ ।  निर्माणाधीन नारायणगढ मुग्लिन सडकखण्डको म्याद बुधबार मात्रै चौथोपटक थपिएको छ ।