७ चैत्र

लोकतन्त्र र जनअधिकारको पक्षमा लडेर आफनो उचो राजनीतिक कद बनाएका नेपाली राजनीतिका शिखर व्यक्तित्व पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका पुर्व सभापति गिरिजा प्रसाद कोइराला हामीबिचबाट सदाको लागी बिदा भएको ८ बर्ष पुरा भएको छ।

आठौ स्मृति दिवशका सन्दर्भमा क्रान्ति नायक कोइरालाप्रति श्रद्दा र सम्मान गर्दै उनले नेपाली राजनितिमा पुरयाउनु भएको योगदान र उनका जीवनका विविध आयामहरुवारे केही लेख्ने प्रयत्न गरेको छु। नेपाली राजनैतिक नक्षत्रका उच्च कदका नेता गिरिजाप्रसाद कोइराला वि सं १९८१ मा स्वर्गीय कृष्णप्रसाद कोईराला र दिव्या कोइरालाका कान्छा छोराका रूपमा भारतको विहार राज्यको टेडी,सहर्षामा भएको थियो। जतिवेला कोइराला परिवार जहानियाँ राणाशासनको विरोध गरेबापत निर्वा्सित जीवन बिताइरहेको थियो।

गर्भमा रहेका बेला कोइरालाका माता पिता गिरिजादेवीको मन्दिर जाने गर्नुभएको र सन्तान जे जन्मिए पनि गिरिजाप्रसाद वा गिरिजादेवी राख्ने सल्लाहअनुसार उहाँको नाम गिरिजाप्रसाद राखिएको स्वयं गिरिजाप्रसादले सुनाउने गरेका थिए। उनले भारतमा अङ्ग्रेज धपाउने आन्दोलनलाई नजिकबाट हेर्ने अवसर पाएका थिए। सन् १९५०-५१ मा नेपालमा चलेको प्रजातान्त्रिक आन्दोलनमा लागेका कोइराला सन् १९४७-४८ को विराटनगरस्थित जुटमिलको मजदुर हड्तालमा समेत सक्रिय सहभागी भएका थिए।

राणाशासनमा परिवारसँगै जेल परेका कोइराला राणाशासनको अन्त्यपछि नेपाली कांग्रेस मोरङ जिल्ला सभापति हुदै नेपाल ट्रेड युनियन कांग्रेसको संस्थापक अध्यक्ष भएका थिए। २०१७ सालमा प्रजातन्त्रको अपहरण भएपछि उनले तत्कालीन प्रधानमन्त्री विशेश्वरप्रसाद कोइराला, नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र अरू सयौं नेतासँग नजरबन्द र त्यसपछि सात वर्ष लगातार जेल सजायँ भोगेका थिए। पटक पटक निर्वासन, जेल सजाँय भोगेका कोइरालाले नेपाली कााग्रेसलाई महामन्त्रीका रुपमा नेतृत्व गरेका थिए प्रजातन्त्र पूनर्स्थापनासम्म। २०४८ सालमा जननिर्वाचत प्रधानमन्त्रीका रुपमा आएपछि उनले सरकारको नेतृत्व पनि सम्हाले।

नेपाली काँग्रेसको सभापति भएसँगै देशको ४ पटक प्रधानमन्त्री भएका कोइराला ०६२-६३ को जनआन्दोलन पछि पाँचौपटक प्रधानमन्त्री समेत भए। ऐतिहासिक संविधानसभाको निर्वाचन सम्पन्न गरेका कोइरालाले १० वर्ष लामो सशस्त्र युद्ध गरेको नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन नेतृत्वदायी काम गरेका थिए। कोइरालाले सशस्त्र युद्धमा रहेको पार्टीलाई शान्ति प्रक्रियामा ल्याउन सफलता हासिल गरेका थिए।

२०४६ सालको जनआन्दोलन पछिका समयमा कम्युनिस्ट विरोधीको पर्यायकै रूपमा रहेका कोइराला सुरुमा माओवादीलाई निस्तेज पार्न चालेको कदमका कारण कम्युनिष्टप्रति अनुदार व्यक्तिका रूपमा चिनिन्थे। राजा ज्ञानेन्द्रले संकटकाल लगाई उनी लगायत अन्य संसदवादी दलका नेताहरूलाई नजरबन्द र गिरफ्तार गरेपछि कोइरालाले २०६२ सालमा जनयुद्ध लडिरहेको कम्युनिस्ट पार्टीसँग समेत हातेमालो गरे। युद्धकालमै माओवादीसँग राजतन्त्रविरुद्ध सहमति गरेपछि कांग्रेसभित्रै समेत कोइरालाको कडा आलोचना भयो तर कोइरालाको व्यक्तित्वका अगाडि त्यो विरोध गौण बन्यो । पहिले राजतन्त्रका समर्थक कोइरालाले नै अढाइ सय वर्ष पुरानो राजतन्त्रका विरुद्ध आन्दोलनको अगुवाइ गरे। लोकतन्त्र स्थापना भैसकेपछि पनि कोइराला नेपाली राजनीतिको केन्द्रभागमै रहे।

देश र लोकतन्त्रको खातिर पुरै जीवन र परिवार सर्मपण गरेका कोईराला २०६६ साल चैत्र ७ गतेका दिन हामी बिचबाट सदाको लागी बिदा भए। लोकतन्त्र र शान्तिका लागि आफूलाई जीवन पर्यन्त होमेका कोइरालाले हुर्काएको पार्टी काँग्रेसका बारेमा अनेक टिप्पणी भएको छ। कोईरालाको अवसान पश्चात नेपाली काँग्रेस नेपाली जनता र मुलुकको लागि क्रियाशिल छ की छैन। राष्ट्र,  राष्टियता र लोकतन्त्रको मुल्य मान्यता र मर्म बमोजिम हिडिरहेको छ या छैन भन्ने प्रश्न पनि खडा गरिएको छ। जीवन्त र गतिशिल काँग्रेस बन्न नसकेको पनि टिप्पणी छ। देशमा धुर्वीकृत हुदै गएको वामपन्थी भडकावबाट मुलुक र जनतालाई स्वतन्त्रता र निर्भयतापुर्वक बस्न र बाच्नसक्ने वातावरण दिनुपर्ने जिम्मेवारी काँग्रेसकै काँधमा छ । तर त्यो जिम्मेवारी काँग्रेसले उठाउन सक्ने होकी होइन भन्ने चिन्ता पनि व्याप्त छ। काँग्रेसका कार्यकर्ता  र आम मतदातामा व्याप्त यो चिन्तालाई सम्वोधन गर्न सक्ने गरि काँग्रेस बनाउने चिन्तन गर्न सके कुशल संगठक गिरिजाबाबुप्रति सच्चा श्रद्धाञ्जली हुनेछ। ८ औ स्मृति दिवशको अवसरमा युग पुरुष कोईरालाप्रति हार्दिक शब्द श्रद्दा ।
(लेखक नेपाल बिद्यार्थी संघ केन्द्रीय सदस्य हुन।) हाम्राकूरा वाट