६ चैत्र
केन्द्र परिवर्तनको विरोधमा पर्साका तीन गाउँपालिकामा आन्दोलन सुरु भएपछि कामकाज ठप्प भएको  छ । ठोरी, सखुवा प्रसौनी र विन्ध्यवासिनी गाउँपालिकामा पुरानो केन्द्रका स्थानीयले आन्दोलन गरिरहेका छन् ।

ठोरी गाउँपालिकाले घ्याङडाँडामा केन्द्र सार्ने निर्णय गरेपछि सुवर्णपुरबासी डेढ महिनादेखि आन्दोलनमा छन् ।

विन्ध्यवासिनी गाउँपालिका कार्यालयमा दुई वडाध्यक्षसहित स्थानीयले २० दिनदेखि लगाएको ताला अझै खुलेको छैन । सखुवा प्रसौनी गाउँपालिकाको नाम र केन्द्र परिवर्तनको निर्णय गरेको भन्दै गाउँपालिका उपाध्यक्षले नै आन्दोलनको नेतृत्व गरिरहेकी छिन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा पहिलो निर्वाचन भएको मितिले ६ महिनाभित्र बहुमतले नाम र केन्द्र परिवर्तन गर्न सक्ने उल्लेख छ । सोही प्रावधानअनुसार नाम र केन्द्र परिवर्तन गर्ने निर्णय गरेका तीनवटै गाउँपालिकामा तनाव सुरु भएको हो । पर्सामा १४ स्थानीय तह छन् ।

सबैभन्दा पहिले १५ माघमा ठोरी गाउँपालिकाको प्रथम गाउँसभाले सुवर्णपुरमा रहेको सेवाकेन्द्र वडा नं ४ घ्याङडाँडामा सार्ने निर्णय गरेको थियो । त्यसको भोलिपल्ट १६ माघदेखि सुवर्णपुरबासी संघर्ष समिति नै गठन गरेर अनिश्चितकालीन तालाबन्दी र प्रदर्शनमा उत्रिएका छन् ।

सेवा केन्द्र गाउँपलिकाको बीचभागमा हुनुपर्ने माग राखेर ठोरी गाउँपालिका वडा नं ३ ब्रह्मनगर पनि संघर्ष समिति नै गठन गरेर आन्दोलनमा थिए ।

शुक्रबार भएको वार्तामा स्थानीय तहमा प्राप्त हुने सेवा कार्यालयहरू समानुपातिक रूपमा वितरण गर्ने सहमतिपछि उनीहरूले सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गरेको ठोरी गाउँपलिकाका प्रवक्ता रामप्रकाश कुँवरले बताए ।

सुवर्णपुर संघर्ष समितिसँग बीचमा पटक–पटक भएको वार्तामा सहमतिनजिक पुगेको भए पनि कार्यदलमा सहमति नजुटेपछि सुवर्णपुर संघर्ष समितिले बुधबारदेखि पुनः अनिश्चितकालीन बन्दको घोषणा गरेको छ ।

२२ फागुनमा भएको वार्तामा स्थानीय सरकारका प्रतिनिधि र संघर्ष समितिको वार्ताटोलीबीच गाउँसभाको निर्णयबाट उत्पन्न असन्तुष्टि समाधान गर्न अधिकारसम्पन्न १३ सदस्यीय कार्यदल गठन भएको थियो । संघर्ष समितिको आह्वानमा सुवर्णपुर चोकमा रिले अनशन जारी छ ।

वार्तामा भएको सहमतिअनुसार स्थानीय सरकार समस्या समाधानमा गम्भीर नदेखिएकोले पुनः आन्दोलनमा फर्किन बाध्य भएको सुवर्णपुर संघर्ष समितिका संयोजक जरी लामाले जानकारी दिए ।

तर, गाउँपालिका अध्यक्ष पिएल श्रेष्ठले सुवर्णपुर ठोरीको सबैभन्दा पूर्वमा पर्ने हुँदा पश्चिमका जनतालाई अपायक भएकाले केन्द्र सार्ने निर्णय गरिएको बताए ।

उता, विन्दबासिनी गाउँपालिकाले वडा नं २ बहुअर्वास्थित भाडामा रहेको सेवा केन्द्र सार्न खोजेको भन्दै वडा नं १ र २ का अध्यक्षहरूले १२ फागुनमा कार्यालयमा तालाबन्दी गरेका छन् ।

गाउँपालिका अध्यक्ष श्रीलाल साह मोदीले गोप्य रूपमा वडा सदस्यहरूको घर–घरमा गई नेपाली कागजमा सही गर्न लगाएर केन्द्र अन्य वडामा सार्न खोजेको उनीहरूले आरोप लगाएका छन् ।

पाँचवटा वडा रहेको विन्दबासिनीमा तीनवटा वडाका प्रतिनिधि केन्द्र सार्ने पक्षमा छन् । वडा नं २ का अध्यक्ष सञ्जय चौहानले गाउँसभामा जानकारी नगराई गोप्य रूपमा केन्द्र सार्ने निर्णय गर्न खोजिएकोले विरोधमा उत्रनुपरेको बताए ।

‘गाउँसभामा जानकारी नै नगराई घर–घरमा गएर सही गराएर केन्द्र सार्न खोजिएको सूचना पायौँ ।’ उनले भने, ‘त्यसपछि हामीले कार्यालयमा तालाबन्दी ग-यौँ ।’

सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष प्रदीप जयसवालको अगुवाइमा केन्द्र र नाम परिवर्तन गर्ने निर्णय भएको भन्दै वडा नं. २ का स्थानीयले कार्यालयमा ताला लगाएका छन् ।

२६ फागुनको गाउँसभाले गाउँपालिकाको नाम पारसनाथ राख्ने र केन्द्र वडा नं ४ सोलखपुर लैजाने निर्णय गरेको थियो । स्थानीयको आन्दोलनलाई गाउँपालिका उपाध्यक्ष फुलमति देवीले पनि साथ दिएकी छन् ।

सहमतिमा गरिनुपर्ने निर्णय गाउँपालिका अध्यक्षले मनोमानी ढंगले गर्न थालेपछि आफू जनताको साथमा गएको गाउँपालिका उपाध्यक्ष फुलमति देवीले बताईन् । ‘आमजनताको चित्त नबुझाई गरिएको निर्णय मान्न सकिन्न,’ उनले भनिन् ‘जनताको मतले जितेर आएकी हुँ म जनताको भनाइअनुसार नै जान्छु ।’

गाउँपालिकाका अध्यक्ष प्रदीप जयसवालले भने ऐतिहासिक धार्मिकस्थल भएकोले गाउँपालिकाको नाम पारसनाथ राखिएको स्वीकार गरे । उनले केन्द्र पनि सबैलाई पायक पर्ने स्थानमा सारिएको बताए ।

‘कांग्रेस र एमालेका नेताहरू र गाउँका अगुवा भन्नेहरूले राजनीतिक रंग दिएर विरोध गर्न लगाएका हुन्,’ उनले भने, ‘हामीले त ऐनले गरेको व्यवस्थाअनुसार नै निर्णय गरेका छौँ ।’

ठोरीमा डेढ महिनादेखि आन्दोलन
ठोरीको १५ माघमा बसेको पहिलो गाउँसभाले सुवर्णपुरमा रहेको सेवाकेन्द्र घ्याङडाँडा सार्ने निर्णय गरेको थियो ।

त्यसको भोलिपल्ट १६ माघदेखि सुवर्णपुरवासी संघर्ष समिति नै गठन गरेर आन्दोलनमा उत्रिएका छन् । गाउँपालिका र स्थानीयबीच पटक–पटक भएको वार्ता असफल भएको छ । संघर्ष समितिको आह्वानमा सुवर्णपुर चोकमा रिले अनशन जारी छ । सुवर्णपुर बजार अनिश्चितकालीन बन्द घोषणा गरिएको छ ।

गाउँपालिका कार्यालयमा वडाध्यक्षले नै लगाए ताला
विन्दबासिनी गाउँपालिका अध्यक्ष श्रीलाल साह मोदीले गोप्य रूपमा केन्द्र सार्न खोजेको भन्दै वडा नं. १ र २ का अध्यक्षले कार्यालयमा ताला लगाएका छन् ।

वडा सदस्यहरूको घरघरमा गई नेपाली कागजमा सही गर्न लगाएर कार्यालय अन्य वडामा सार्न खोजेको वडा नं. २ का अध्यक्ष सञ्जय चौहानको आरोप छ । गाउँपालिका कार्यालयमा तालाबन्दी भएपछि १२ फागुनयता सबै कामकाज ठप्प छ ।

गाउँपालिका उपाध्यक्ष नै आन्दोलनमा
सखुवा प्रसौनी गाउँपालिकाको नाम र केन्द्र अध्यक्ष प्रदीप जयसवालले मनोमानी ढंगले परिवर्तन गरेको आरोप लगाउँदै उपाध्यक्ष फूलमति देवी नै आन्दोलनमा उत्रिएकी छिन् ।

नाम र केन्द्र परिवर्तनको विरोधमा उत्रिएका वडा नं. २ सखुवा प्रसौनीका स्थानीयलाई उनले साथ दिएकी हुन् । उनको अगुवाइमा गाउँपालिका केन्द्रमा ताला लगाइएको छ ।

गाउँपालिका उपाध्यक्ष नै आन्दोलनमा
सखुवा प्रसौनी गाउँपालिकाको नाम र केन्द्र अध्यक्ष प्रदीप जयसवालले मनोमानी ढंगले परिवर्तन गरेको आरोप लगाउँदै उपाध्यक्ष फूलमती देवी नै आन्दोलनमा उत्रिएकी छिन् । उनको अगुवाइमा गाउँपालिका केन्द्रमा ताला लगाइएको छ ।नयापत्रिका दैनिकवाट