२ चैत्र
बर्लिन :जर्मन चान्सलरमा एन्जेला मर्केल फेरी निर्वाचित भएकी छन् । जर्मनीको संसदले बुधबार उनलाई चौथो कार्यकालका लागि चान्सलरमा निर्वाचित गरेको हो ।

युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक जर्मनीमा उनको लोकप्रियतालाई लिएर विश्वभरी नै चर्चा भएको छ । जर्मनीको तल्लो सदनका कूल ७०९ जना सांसदमध्ये ३६४ जनाले मर्केलको पक्षमा मतदान गरेका थिए ।

संसदको स्पष्ट बहुमत उनलाई प्राप्त भएकाले मर्केल चान्सलरमा निर्वाचित भएको तल्लो सदनका सभामुखले घोषणा गरेका थिए । मर्केल नेतृत्वको युनियन पार्टी र सोसियल डेमोक्र्याटिक पार्टी (एसपीडी)ले गठबन्धन सरकार बनाउने बारेमा सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

गठबन्धन बनाएका दुई पार्टी जर्मनीका सबैभन्दा ठूला पार्टी हुन् । यस्लाई ‘ठूलो गठबन्धन’को संज्ञा दिइएको छ । निर्वाचन पछि मर्केलले राष्ट्रपतिलाई भेटेकी छन् भने तत्काल नयाँ मन्त्रिपरिषद् बनाउने तयारी गरेको समाचार छ । सिन्ह्वा