२९ फागून

पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतका कोषाध्यक्ष यामबहादुर मल्ल ( रामकृष्ण ) को गाडीमा बम राखेको घटनाको साथै स्थानीय व्यवसायी बाबुराम कार्की र शिव घर्तीको जेसिवीमा आगो लगाइएको घटनाको घोर भत्सर्ना गर्नुभएको छ । काँग्रेस नेता जोशीले आज एक प्रेस विज्ञप्ती प्रकाशन गर्दै ती दुवै घटनाको विरोध गर्नुभएको हो । उहाँले कुनैपनि समस्या भए संवाद र छलफलबाट समाधान खोज्नुपर्नेमा हिंसा र अराजकताको बाटो रोज्ने व्यक्ति वा समूह जो भएपनि त्यसलाई कार्वाहीको दायरामा ल्याएर कार्वाही गर्न सरकारसँग माग गर्नुभएको छ ।

नेपाली काँग्रेस शान्ति, लोकतन्त्र र मानव अधिकारको पक्षपाती पार्टी भएको उल्लेख गर्दै केन्द्रीय सदस्य जोशीले विधि र पद्धतिमा विस्वास गर्न सबैलाई आग्रह गर्नुभएको छ । ‘हामी कुनैपनि समस्याको समाधान हिंसा र अराजकताबाट नभएर संवाद र छलफलबाट खोजिनुपर्छ भन्ने मान्यतामा प्रतिवद्ध छौं । त्यसैले पनि अब विधिसम्मत राज्य र सबै नेपालीको समृद्धि हाम्रो चाहना हो ।’– तर पछिल्ला केही दिनमा समाजमा अशान्ति फैलाउने र जनतालाई आतंकित बनाउने खालका गतिविधिहरु बढ्दै गएको खबरले हामी गम्भीर भएको छौं ।’– जोशीद्वारा जारी विज्ञप्तीमा भनिएको छ । नेता जोशीले नागरिकको सुरक्षा गर्नु र समाजमा शान्ति स्थापना गर्नु राज्यको प्रमुख दायित्व भएकोले त्यस्ता प्रकारका घटनाप्रति राज्यलाई सजक र सचेत हुन आग्रह गर्नुभएको छ ।
काँग्रेस कोषाध्यक्ष मल्लको बा १६च २५२६ नम्बरको गाडीमा प्रेसर कुकुर बम राखिएको थियोभने जलजला गाउँपालिका वडा नम्बर ८ स्थित कालीगण्डकी नदीनजिकै रहेको बाबुराम कार्की र शिव घर्तीको ग१क ३६३७ नम्बरको जेसिबीमा आगो लगाइएको थियो । मल्लको गाडीमा राखिएको बमलाई नेपाली सेनाले निष्कृय पारेको छभने अपराधमा संलग्न  व्यक्तिको खोजी भइरहेको पर्वत प्रहरीले जनाएको छ । घटनाको अहिलेसम्म कसैले जिम्मा लिएको छैन ।