२१ फागून

काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा उम्मेदवारले ४ लाख रुपैयाँसम्म खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले आइतबार राष्ट्रपति तथा उपराष्ट्रपतिका उम्मेदवारको निर्वाचन प्रचारप्रसार खर्चको सीमा निर्धारण गरेको हो ।

उम्मेदवारले निर्वाचन प्रचारप्रसार गर्दा बढीमा ४ लाख रुपैयाँसम्म खर्च गर्न पाउने प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

राष्ट्रपति निर्वाचन फागुन २९ गते हुँदैछ । निर्वाचनका लागि आयोगले निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृतका लागि प्रशिक्षण सञ्चालन गरिसकेको छ ।

काे-काे बन्लान उम्मेदवार ?

एकीकरण प्रक्रियामा रहेका एमाले र माओवादी केन्द्रले सर्वोच्च राजकीय पदहरु राष्ट्रपति र उपराष्ट्रपतिमा पुरानै अनुहारलाई दोहोर्‍याउने तयारीमा देखिएका छन्।

पार्टी एकीकरणको निर्णयसँगै राजकीय पदको समेत बाँडफाँट गरेका दुवै दलले राष्ट्रपति र उपराष्ट्रपतिमा पुरानै अनुहारलाई निरन्तरता दिने तयारी गरेका हुन्। राजकीय पदको बाँडफाँट गर्दा राष्ट्रपति र उपसभामुखमा एमालेले प्रस्ताव गर्ने र माओवादी केन्द्रले उपराष्ट्रपति र सभामुख पदमा आफ्नो उम्मेदवार प्रस्ताव गर्ने एमाले र माओवादी केन्द्रबीच सहमति छ।

एमाले सचिव प्रदीप ज्ञवालीले राष्ट्रपति र उपराष्ट्रपतिमा पुरानै अनुहार दोहोरिने सम्भावना प्रबल रहेको बताए। यद्यपि त्यसको औपचारिक निर्णय नभएको उनको भनाइ छ।

‘संगठनको आवश्यकताका आधारमा व्यक्तिहरुलाई भूमिका प्रदान गर्ने हो,’ उनले नेपाल लाइभसंग भने, ‘संक्रमणकालीन अवस्थामा दुवैले कुशलतापूर्वक आफ्नो कार्यभार सम्हाल्नुभएको हामीले महसुस गरेका छौ। त्यसैले पनि उहाँहरु दोहोरिने सम्भावना छ।’

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले समेत राजकीय पदमा दोहरिने इच्छा देखाउँदै आएका छन्। आफूहरुको कार्यकाल छोटो भएकाले थप एक कार्यकाल पूरा गर्न पाउनुपर्ने भन्दै उनीहरुले शीर्ष नेतृत्वसमक्ष आग्रहसमेत गरेका छन्।

पूर्व विशिष्ट पदाधिकारीलाई राज्यबाट दिने सेवा सुविधामा देखिएको समस्याबारे वर्तमान सरकारसमेत गम्भीर देखिएको छ। पूर्वराष्ट्रपति रामवरण यादवलाई समेत आवास लगायतको सेवा सुविधा व्यस्थापन गर्न नसक्दा यसअघिका सरकार आलोचित हुँदै आएका थिए।

एमाले सचिव ज्ञवालीसमेत पूर्वविशिष्ट पदाधिकारीलाई राज्यबाट दिने भनिएको सेवा सुविधाको व्यवस्था गर्न नसक्ने अवस्थाले वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिको व्यवस्थापन कठिन भएको स्वीकार गर्छन्। ‘पूर्वराष्ट्रपतिको व्यवस्थापनमा जुन समस्या देखिएको छ, त्यसैले पनि तत्काल त्यो संख्या थप्दै जाने विषय व्यावहारिक देखिँदैन,’ ज्ञवाली भन्छन्, ‘त्यसैले राष्ट्रपति र उपराष्ट्रपतिलाई पुन: एक कार्यकाल दोहोर्याउँदा राम्रो हुने देखिन्छ।’

दोस्रो संविधानसभामा राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित दुवैको कार्यकाल छोटो भएको एमाले र माओवादी केन्द्रको बुझाइ छ। पार्टीको जिम्मेवारीमा रहँदासमेत दुवैले शीर्ष नेतृत्वलाई सहयोग गर्दै आएका कारण उनीहरु दोहरिने सम्भावना रहेको माओवादीका एक नेताले बताए।

‘दुवै जनाले विगतदेखि पार्टीको शीर्ष नेतृत्वलाई सहयोग गर्दै आएका छन्,’ उनले भने, ‘त्यसैले दुवै दलको शीर्ष नेतृत्व राष्ट्रपति र उपराष्ट्रपतिमा पुरानै अनुहार दोहोर्‍याउन सहमत देखिन्छ।’

पार्टीको जिम्मेवारीमा रहँदा वर्तमान राष्ट्रपति भण्डारी एमाले अध्यक्ष केपी ओलीको प्रमुख सहयोगी थिइन्। पछिल्लो समय राष्ट्रपति भण्डारी राष्ट्रियसभा निर्वाचन अध्यादेश, राष्ट्रियसभा सदस्य मनोनयन लगायतका विषयमा पार्टी नेतृत्वलाई सहयोग गरेको भन्दै विवादमा तानिएकी छन्।

उपराष्ट्रपति पुनले भने जनयुद्धदेखि शान्तिप्रक्रियाका हरेक कठिन समयमा मुल नेतृत्वप्रति पूर्ण सहयोग गर्दै आएका थिए। माओवादी नेतृत्वसमेत पुनलाई उपराष्ट्रपतिमा दोहोर्‍याउन सकारात्मक छ।

दुवै दलले राजकीय पदमध्ये राष्ट्रपति र उपराष्ट्रपतिको विषयमा औपचारिक निर्णय भने गरेका छैनन्।