१९ फागुन

काठमाडौं,  सरकारी दस्तावेज किर्ते गरेको अभियोग लागेका पूर्वडिआइजी एवम् ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद नवराज सिलवाल संघीय संसद भवनभित्र देखिए पनि प्रहरीले यसबारे अविज्ञता प्रकट गरेको छ । प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका सिलवाल संघीय संसद भवन बानेश्वरभित्र देखिएपछि प्रतिक्रिया माग्दा प्रहरी प्रवक्ता मनोज नेउपानेले यसबारे आफूलाई जानकारी नभएको बताए ।

‘मलाई यसबारे थाहा छैन, म बाहिर छु, हाम्रो काठमाडौंको एसएसपीलाई थाहा होला, सोध्नुस् न,’ नेउपानेले  भने ।

त्यसपछि काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलसँग सम्पर्क गर्दा उनले पनि आफूलाई थाहा नभएको प्रतिक्रिया दिए । ‘यसबारे मलाई थाहा छैन, थाहा भएपछि भनौंला,’ एसएसपी पोखरेलले भने ।

त्यसो त संसद भवनको प्रवेशद्वारमा चौबीसै घण्टा प्रहरीले सुरक्षा दिन्छ । त्यही प्रवेशद्वारबाट सिलवाल भित्र प्रवेश गरे पनि प्रहरीले कुनै वास्ता गरेन । सिलवाल एमाले-माओवादीका सांसदलाई प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्तरूपमा दिने प्रशिक्षणमा सहभागी हुन संसद भवन छिरेका हुन् ।

सिलवाल एमाले-माओवादी गठबन्धनको साझा उम्मेदवार बनेर ललितपुर १ बाट निर्वाचित भएका हुन् ।

सिलवालले वरीयताका आधारमा आफूलाई नै डीआईजीबाट आईजीपीमा बढुवा गर्नुपर्ने मागसहित सर्वोच्चमा दिएको रिटमा प्रहरीको कार्यसम्पादन मूल्याङ्कन तोडमोड गरेको आरोप छ ।

संघीय संसदका सदस्यहरूको शपथग्रहण आइतबारका लागि तोकिएको छ । आइतबार शपथ लिन भ्याएको खण्डमा प्रहरीले सभामुखको अनुमतिविना सिलवाललाई पक्रिन पाउने छैन । -लोकान्तर

 प्रहरीको खोजी सूचीमा रहेका एमाले सांसद नवराज सिलवाल सबैलाई चकित पार्दै आज बानेश्वरस्थित संघीय संसद भवनभित्र प्रवेश गरेका छन्।

ढाका टोपी र कालो रङको कोट-पाइन्टमा रहेका उनी संसद् भवन छिरेका हुन्। प्रहरीको खोजी सूचीमा रहे पनि उनी कडा सुरक्षा निगरानी रहेको संसद् भवनभित्र छिरेपछि सबैले आश्चर्य प्रकट गरेका छन्।

एमाले र माओवादी केन्द्रका सांसदहरुको संयुक्त बैठकमा सहभागी जनाउन उनी संसद भवन प्रवेश गरेका हुन्। एकीकरण प्रक्रियामा रहेका दुवै दलको सांसदहरुको संयुक्त बैठक पहिलो पटक बसिरहेको छ। सो बैठकमा दुवै दलका पार्टी अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

संसदमा दुवै पार्टीबाट नयाँ अनुहारको समेत प्रतिनिधित्व रहेकाले शीर्ष नेता समेतले संसदीय अभ्यास र गतिविधिका विषयमा सांसदहरुलाई निर्देशन दिन बैठक आयोजना गरिएको हो।

निर्वाचनपछि संसदको पहिलो बैठक २१ गते बस्दैछ। त्यसअघि प्रतिनिधिसभाका सांसद्हरुको सपथ भोलि हुँदैछ।

आइजिपी बढुवा सम्बन्धी मुद्दामा सिलवालले पेश गरेको कार्यसम्पादन मूल्यांकन (कासमू) सम्बन्धी कागजपत्र कीर्ते रहेको भन्दै अनुसन्धान गरी कारबाही गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो। त्यसपछि उनी फरार रहँदै आएका छन् भने प्रहरीले खोजी गरिरहेको बताएको छ। सिलवालले भने सरकारले प्रतिशोध स्वरुप आफूविरुद्ध मुद्दा चलाउन खोजेको आरोप लगाउँदै आएका छन्।