संजय रेग्मी
फागुन १७, २०७४

पर्वत : रंगहरुको पर्व होलीको दिनमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले बिभिन्न ५५ ओटा सवारी साधनहरुमाथि कारबाही गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब निरीक्षक महेन्द्र रानाभाटले दिनुभएको जानकारी अनुसार ५५ ओटा सवारी साधनहरुलाई गरिएको कारबाहीबाट ३२ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

कारबाहीमा परेका मध्ये अधिकांश सवारी चालकहरुले सवारीका कागजपत्र तथा चालक अनुमतिपत्र नबोकेको पाइएको छ भने २ जनालाई मादक पदार्थ सेवन गरेकोमा कारबाही गरीएको छ ।

होलीमा ट्राफिक नियम उल्लघंन हुन सक्ने तर्पm ध्यान दिंदै ट्राफिक प्रहरीले बजार क्षेत्र तथा पोखरा बागलुङ राजमार्गको बिभिन्न ठाउँमा पनि घुम्ती चेकजाँच गरेको थियो ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक (डि.एस.पी.) दिलिप घिमिरेले होली मनाउने क्रममा पर्वतमा कुनै पनि अप्रिय घट्ना नभएको जानकारी दिनुभयो । होलीलाई मध्यनजयर गरी बजार क्षेत्र र आसपासका ठाउँ तथा गाउँ गाउँमा रहेका प्रहरी यूनिटहरुलाई पनि बिशेष सतर्कता अपनाउन भनिएको घिमिरेको भनाई छ । होलीलाई शान्तपूर्वक मनाउन पर्वत प्रहरीले पोशाक र सादा पोशाकका प्रहरीलाई आवश्यक मात्रामा खटाएको थियो ।