१७ फागून
काठमाडौं : सत्ता पक्ष (एमाले-माओवादी) र संघीय समाजवादी फोरमबीच दुई घण्टासम्म चलेको वार्ता सकारात्मक भएको छ। संविधान संशोधन र सत्ता बाँडफाँडको विषयमा भएको छलफल सकारात्मक भएको छ। वार्ता सकारात्मक भए पनि ठोस सहमति हुन नसकेको संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए।

प्रधानमन्त्री कार्यालय सिंहदबारमा बुधाबार साँझ साढे ६ बजेबाट सुरु भएको छलफल करिब दुई घण्टासम्म चलेको थियो। सहमति नभए पनि वार्ता सकारात्मक भएको फोरम अध्यक्ष यादवको भनाइ छ।

सहमतिलाई ठोस रुप दिन बिहिबार बिहान फेरि बैठक बोलाइएको छ। बिहीबारको बैठकले ठोस सहमति गर्ने छलफलमा सहभागी नेताले बताए। बिहीबारको बैठकले संविधान, सत्ता बाँडफाँड र राज्य संचालनमा मधेसको भूमिका लगायतका बिषयमा संझौता गर्ने तयारी छ।

फोरमले तीन मन्त्रालयमा दाबी गर्दै आएको छ भने सत्ता पक्षले दुई फुल मन्त्रालय र एक राज्यमन्त्री दिने तयारी गरेको छ। सँगै फोरमले संविधान संशोधनको अडानलाई समेत प्राथमिकतामा राखेको छ। फोरम सरकारमा सहभागी हुने निश्चित प्राय भएपछि प्रदेश नम्बर २ मा फोरमसँग सत्ता गठबन्धन गरेको राष्ट्रिय जनता पार्टी (राजपा)ले संविधान संशोधनको मुद्दालाई अगाडि सारेको देखिन्छ।