१७ फागून , काठमाडौं । ‘मेरो त भाग्य लेख्ने पनि अरु नै, उमेर लेखिदिने पनि अरु नै’, प्रतिनिधिसभाको जेष्ठ सदस्यको हैसियतमा पहिलो सर्वदलीय बैठकको अध्यक्षता गरेपछि राजपा नेता महिन्द्र राय यादवले  दिएको प्रतिक्रिया हो यो ।

बुधवार संघीय संसद सचिवालयले आयोजना गरेको सर्वदलीय बैठकको अध्यक्षता जेष्ठ सदस्यको हैसियतमा यादवले गरेका थिए । यादवको उमेर ६३ वर्ष हो । तर, उनले ८० वर्षको हैसियतमा ज्येष्ठ सदस्यको मान्यता पाए ।

६३ वर्षीय महिन्द्रप्रसाद यादवको उमेर कसरी ८० वर्ष भयो ? कसरी जेष्ठ सदस्यको हैसियतमा प्रतिनिधिसभाका १६४ सांसदलाई सपथग्रहण गराउने अवसर पाए ? यो प्रश्नको उत्तरमा उनले दिएको जवाफ छ– ‘हाम्रो त भाग्यमात्र होइन, उमेर पनि अरुकै निगाहमा पाइने रहेछ ।’

प्रतिनिधिसभाको समानुपातिकतर्फको अन्तिम नतिजा आइसकेपछि हामीले सबै सांसदको उमेर खोज्दा सबैभन्दा जेठा सांसद राजपाकै महन्थ ठाकुर र कांग्रेस सभापति शेरवहादुर देउवा देखिएका थिए । ठाकुरको उमेर ७५ र देउवाको ७४ वर्ष संसद सचिवालयको रेकर्डमा देखिन्छ ।

तर, संसद सचिवालयले राजपाका महिन्द्र यादवको उमेर ८० वर्ष रहेकाले जेष्ठ सदस्यका हैसियतमा उनले सभामुखको भूमिका निर्वाह गर्ने सूचना सार्वजनिक गरेपछि राजपाकै नेताहरु पनि चकित परे । उनलाई राजपा नेताहरुले वास्तविकता सोधे । किनकि राजपा अध्यक्ष मण्डलका ५ नेतामध्ये सबैभन्दा जेठा महन्थ ठाकुर हुन् भन्ने सबैलाई थाहा छ ।

राजपा नेताहरुको अनौपचारिक बैठकमा यादवले बताएअनुसार उनको जन्म विसं. २०११ साल असार १५ गते भएको हो । तर, नागरिकता बनाउने बेला १७ वर्ष बढाएर बनाइदिएका कारण उनी ८० वर्षका हुन पुगेका छन् । उनको नागरिकताको जन्ममिति विक्रम संवत १९९६ कायम गरिएको छ । नागरिकताको गडबडीका कारण उनीभन्दा जेठा दर्जनौं सांसदलाई सपथग्रहण गराउने भाग्य पाएका हुन् ।

साविक बसन्तपुर ५, सर्लाहीमा जन्मिएका महिन्द्र यादवका दाजु पञ्चायतकालमा जिल्ला पञ्चायतका सदस्य थिए । गाउँका ठालू भएका कारण सरकारी कर्मचारीहरु उनको घरमै आउँथे । त्यही मेसोमा अग्लो कदका किशोर महिन्द्र यादवको नागरिकता बनाउँदा उमेर बढाइएको पारिवारिक स्रोतले जनाएको छ ।

यद्यपि कतिपयले भने २०२२ सालमा तत्कालिन राजा महेन्द्रले भूमिसुधार नीति लागु गरेर हदबन्दीभन्दा बढी जग्गा जफत गर्न लागेपछि ११ वर्षीय महिन्द्र यादवको उमेर बढाएर नागरिकता बनाई उनका नाममा जग्गा नामसारी गरेको चर्चा पनि चलाएका छन् । तर, यो दाबीलाई भने महिन्द्रले अश्वीकार गरे । अनलाईनखवर वाट