१५ फागून
काठमाडौं,  माओवादी अध्यक्ष प्रचण्डले राम बहादुर थापा ‘बादल’लाई गृहमन्त्री बनाएपछि माओवादी केन्द्रभित्र बबण्डर सुरु भएको छ ।

गृहमन्त्रीका प्रवल दावेदार अर्का नेता बर्षमान पुन ‘अनन्त’ रुष्ट बनेका छन् । उनले अब अाफू सरकारमा नजाने धम्की दिएका छन् । स्रोतका अनुसार पुनले अध्यक्ष दाहाललाई फोन गरेर अाफूलाई धोका भएको भन्दै सरकारमा नजाने धम्की दिएका हुन् ।

प्रदेश नम्बर ३ बाट राष्ट्रियसभा सदस्यमा निर्वाचित थापा यसअघि नै रक्षामन्त्री भइसकेका व्यक्ति हुन भने रोल्पाबाट निर्वाचित अनन्त यसअघि अर्थमन्त्री बनेका थिए । सुरुमा माओवादी नेतृत्वले भने बादललाई उपप्रधानसहित एउटा मन्त्रालय दिएर गृहमा अरु पठाउने तयारी गरेको थियो । तर, प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री नराख्ने प्रस्ताव अघि सारेपछि बादलले गृह छाडेनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चार मन्त्री थप्दै सोमबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । यससँगै माओवादी केन्द्र पनि सरकारमा सहभगी भएको छ तर, सरकारले पूर्णता पाउन भने अझै केही समय लाग्ने देखिएको छ । पूर्वरक्षामन्त्री समेत रहेका बादल माओवादीका वरिष्ठ नेता हुन् र सरकारमा पार्टीको नेतृत्व उनले नै गर्नेछन् । माओवादीबाट मात्रिका यादव पनि मन्त्री बनेका छन् ।

वन मन्त्री भएको बेला २०६५ असार ४ गते जिल्ला विकास समिति ललितपुरका एलडीओलाई शौचालयमा थुनेर चर्चामा आएका मातृका यादव पुनः मन्त्री भएका हुन् ।

उनको नाम मन्त्रीमा टुङ्गो लाग्ने वित्तिकै शौचालयमा एलडीओलाई थुनेको घटनालाई सबैले स्मरण गर्न थालेका छन् । उनले उद्योग तथा आपुर्ति मन्त्रीको रुपमा सोमवार सपथ लिएका छन् ।

यस्तै युवराज खतिवडा अर्थमन्त्री बनेका छन् । पूर्वगर्भनर तथा योजना आयोगका उपाध्यक्ष समेत रहेका खतिवडालाई राष्ट्रियसभा सदस्य समेत मनोनित गरिएको छ । तर, सर्वोच्चले अन्तरिम आदेशमार्फत सपथ रोकेको छ । यद्यपि मन्त्री बन्न त्यसले रोकेन । खतिवडा एमालेनिकट हुन् ।

यस्तै एमाले महासचिव ईश्वर पोखरेल प्रधानमन्त्रीपछिको दोस्रो वरियता सहित रक्षामन्त्री बनेका छन् । अर्थमन्त्रीको चर्चामा रहेका पोखरेल अन्तिम समयमा रक्षामन्त्री बनेका हुन् ।

महासचिव पोखरेलका लागि सातै प्रदेशको विकास समन्वय गर्ने गरी नयाँ मन्त्रालय खडा गर्ने बारेमा समेट छलफल भइरहेको थियो ।

नयाँ संरचना नबनेसम्म पोखरेल रक्षामन्त्री हुनेछन् । २०५१ सालमा तत्कालिन एमालेका महासचिव माधवकुमार नेपाल पनि प्रधानमन्त्रीपछिको दोस्रो वरियतामा रक्षा र परराष्ट्र मन्त्रालय सम्हाल्ने गरी उपप्रधानमन्त्री थिए ।

रक्षामन्त्री अलग्गै रहने प्रणाली एमालेले २०५१ बाट सुरु गरेको हो । त्यसअघि प्रधानमन्त्रीनै रक्षामन्त्री रहने प्रचलन थियो । नवनियुक्त मन्त्रीहरुले सोमबार नै राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।

सोमबारको विस्तारसँगै ओली सरकार सात सदस्यीय बनेको छ । लालबाबु पण्डित र थममाया थापा प्रधानमन्त्रीको सपथकै दिन मन्त्री नियुक्त भएका थिए ।