९ फागुन

वलपरासी पश्चिमस्थित महेशपुर भन्सारमा स्थानीयवासी र प्रहरीबीच झडप हुँदा तीनजना घाइते भएका छन्

। पाल्हीनन्दन गाउँपालिका–१ मा रहेको महेशपुर भन्सार कार्यालयले बरामद गरेकोे कपडा र अन्य सामग्रीका विषयलाई लिएर सोमबार स्थानीय र प्रहरीबीच झडप भएको हो ।

झडपमा परी हीरालाल गुप्ता, पवन निगम र चिन्कु निगम घाइते भएका जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

हवाइ फायर र अश्रुग्यास प्रहार
स्थानीय व्यापारीले भारतबाट विनाभन्सार ल्याएका ४० लाख बराबरको ५२ पोका कपडा र १५ बोरा चपरा केही दिनअघि प्रहरीले बरामद गरेको थियो ।

बरामद सामग्री प्रहरीले भैरहवा भन्सार लैजाने क्रममा केही व्यापारीसहित स्थानीयले अवरोध गर्न खोजेपछि झडप भएको हो ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन करिब १० राउन्ड अश्रु ग्यास र एक राउन्ड हवाई फायर गरेको जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिममका उदयबहादुर रानाले बताए ।

स्थानीयले कपडा लोड गरेको ट्रकलाई रोक्न खोजेपछि प्रहरीले सुरुमा लाठी चार्ज गरेको थियो । जसले स्थानीय थप आक्रोशित बनेका थिए ।

प्रहरीलाई स्थानीयले रोक्ने प्रयास गरेपछि झडपको अवस्था आएको जिल्ला प्रहरी कार्यालय परासीका एसपी मुकुन्दराज आचार्यले बताए । झडपलाई नियन्त्रणमा लिन अश्रु ग्यास र हवाई फायर गर्नुपरेको प्रमुख जिल्ला अधिकारी रानाले बताए ।

भन्सार कार्यालयमा ढुंगामुढा
स्थानीयले भन्सार कार्यालयमा ढुंगामुढा गरेर झ्यालका सिसा फुटाइदिएका छन् । घटनामा संलग्न दुईजना व्यापारी फरार भएको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सांसद तथा स्थानीय सरोकारवालाको पहलमा स्थिति नियन्त्रणमा आएको थियो । बरामद सामग्री व्यापारीले भन्सार तिरेर छुटाउने प्रयास गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here