२८ माघ
भरतपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश र जनताको हितका लागि जस्तोसुकै भूमिका खेल्न समेत तयार रहेको बताएका छन् ।
चितवनको भरतपुरस्थित तीनखोले महाबौद्ध गुम्बाको उदघाटन समारोहमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक संकटबाट देशलाई निकास दिन मियोकारुपमा भूमिका खेल्दै आएको बताए ।
राजनीतिमा आफ्नो कुनै स्वार्थ नभएको बताउँदै अध्यक्ष प्रचण्डले देश संकटमा परेको बेला विगतमा र अहिले पनि आफूले सबै समूह, शक्तिबीचको तिक्तता र विवादलाई साम्य गरी निकासतर्फ अघि बढाउने भूमिका खेलेको बताए ।
‘म अहिले जुन किसिमले हिँडेको छु, यसबाट देश र जनतालाई फाइदा पुग्ने लागेन भने म फडको मार्न सक्छु,’ दाहालले भने, ‘मेरो मुख्य उद्देश्य समुन्नत र समृद्ध नेपालको निर्माण हो । शान्तिपूर्ण र समृद्ध नेपालका लागि नै मैले आफ्नो जीवन समर्पित गरेको छु’
गिरिजाप्रसाद कोइरालासँग बारम्बार छलफल भएपछि देश र जनताको पक्षमा शान्ति सम्झौता गरिएको बताउँदै दाहालले भने, ‘युद्धकालसँग जोडेर हामीलाई व्यंग गर्नेहरु पनि छन्, तर इतिहास हेर्दा सम्राट अशोक नै सबैभन्दा पहिले बुद्धको शान्तिको सन्देश विश्वभरी फैलाउने विभूति भएको बिर्सिन मिल्दैन ।’